• २० फागुन २०८२, बुधबार

स्पेनद्वारा इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

blog

म्याड्रिड, फागुन २० गते । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य आधार इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गर्नु भएको छ । 

उहाँले टेलिभिजन सम्बोधनमा स्पष्ट रूपमा ‘हामी युद्धमा संलग्न हुने छैनौँ’ भन्दै प्रतिशोधको डरले विश्वका लागि हानिकारक कुनै कदममा स्पेन संलग्न नहुने जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी यस विपत्तिको विरोध गर्छौ ।” उहाँले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकसँग साझा भएको बताउनुभयो, जसले थप युद्ध वा अनिश्चितता चाहँदैनन् ।

यसअघि मङ्गलबार ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट्दा ट्रम्पले स्पेनलाई ‘डर लाग्दो’ सहयोगी भन्नुभएको थियो । सान्चेजले ट्रम्पको माग अनुसार रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतमा बढाउने प्रतिज्ञा गर्न अस्वीकार गरेको पनि औँल्याउनुभयो । संयुक्त राज्य अमेरिकाले गठबन्धनको बोझ धेरै काँधमा बोकेको ट्रम्पले बारम्बार उल्लेख गर्नुभयो ।

सान्चेजको वामपन्थी सरकारले गाजामा इजरायलको युद्धको कडा विरोध, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण र पक्राउ गर्ने सैन्य कारबाहीको आलोचना र अन्य नीतिले वासिङ्टनको रिस बढाएको छ । स्पेनको रोटा नौसेना आधार र मोरोन हवाई आधार अमेरिकी सेनाको प्रयोगमा छ । सन् २००३ मा इराकमाथि आक्रमण हुँदा तत्कालीन कन्जरभेटिभ प्रधानमन्त्री जोस मारिया आजनारको नेतृत्वमा स्पेनले अमेरिकी आक्रमणलाई दृढ समर्थन गरेको थियो । रासस/एएफपी