वीरगन्ज, फागुन १९ गते । निर्वाचनका कारण वीरगन्ज–रक्सौलसहित पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका सोमबार राति १२ बजेपछि पूर्ण रूपमा सिल गरिएको छ । नाका सिल गरिए पनि नेपाली मतदाताले नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी देखाएर मतदानका लागि आउन पाउने भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मतदानबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले भारतीय सुरक्षा बल (एसएसबी) सँग समन्वय गरिएको जानकारी दिनुभयो । नेपाली नागरिकको परिचय खुल्ने प्रमाण देखाएपछि मतदाता सहज रूपमा नेपाल भित्रिन पाउने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार निर्वाचनको भोलिपल्टै फागु पूर्णिमा (होली) परेकाले मतदानलाई भयरहित, सरल र सहज बनाउनुका साथै पर्वको उत्साहमा कुनै असर नपर्ने गरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ । तराईका जिल्लामा उत्साहका साथ मनाइने फागु पर्व र निर्वाचन दुवैलाई दृष्टिगत गरी विशेष सुरक्षा योजना लागु गरिएको प्रशासनले जनाएको छ ।