• १८ फागुन २०८२, सोमबार

निर्वाचनको तयारी पूरा

blog

निर्वाचन सामग्री बुझेर गन्तव्यतर्फ लाग्ने तयारीमा कर्मचारी । तस्बिर : गोकर्ण दयाल

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), फागुन १८ गते । प्रतिनिधि सभा निर्वाचन–२०८२ को तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै किमिसका काम पूरा भएसँगै निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिनुभयो । 

दार्चुलाका लागि प्रत्यक्षतर्फ एक लाख तथा समानुपातिकतर्फ एक लाख पाँच हजार मतपत्र आएको उहाँले बताउनुभयो । निर्वाचनको सबै तयारी लगभग पूरा भएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष अनिल पौडेलले बताउनुभयो । उहाँका अनुसार मतदान केन्द्रको स्थलगत अनुगमन निरीक्षण, सुरक्षा समिति बैठक, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमलगायतका काम सम्पन्न भइसकेको छ ।  

तालिमप्राप्त गरेका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आआफ्नो मतदान केन्द्रको आवश्यक निर्वाचन सामग्री फागुन १७ गतेसम्ममा बुझिलिन जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सूचना जारी गरेको थियो । टाढाका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझिसकेको तथा नजिक नजिक मतदान केन्द्रमा खटिनु भएका कर्मचारी सामग्री बुझ्न आउने व्रmम जारी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले हालसम्म जिल्लाका ३० वटा मतदान केन्द्रको स्थलगत अनुगमन निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका नौगाड गाउँपालिका–१ को नागुगाउँमा पुगेर सरकारी सेवाका साथै मतदानमा भाग लिन अपिल गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै उम्मेदवारसँग भर्चुअल बैठक राखेर नागुवासीसँग मतदानमा सहभागी हुन अपिल गरिएको छ भने व्यास गाउँपालिका–२ का स्थानीयसँगको छलफलपछि यहाँका मतदाता भोट हाल्न तयार भएको प्रजिअ पौडेलले बताउनुभयो ।  

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदान स्थल, १४३ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । भौगोलिक विकटता, सडकको अवस्था र विगतका घटनालाई आधार मानेर निर्वाचनको सुरक्षा विश्लेषण गरी यहाँका २२ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ४१ वटा मतदान केन्द्रलाई संवेदनशी र बाँकी ८० वटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको उहाँले बताउनुभयो । 

दार्चुलाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरीका अनुसार जिल्लामा ८५७ जना कर्मचारी निर्वाचनमा खटाइएको छ । दार्चुलाबाट ११ वटा राजनीतिक दलका उम्मेदवारले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । दार्चुलामा पैँतालिस हजार १९३ महिला र सतचालिस हजार ७५५ पुरुष गरी  ९२ हजार ९४८ मतदाता रहेका छन् । 

स्थानीय तहमा सुरक्षा 

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेका छन् । यहाँको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिकामा इलाका प्रहरी कार्यालय यसअधि नै स्थापना गरिएका छन् । 

इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली छ । यहाँको दुहुँ गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिकामा पनि तालुक प्रहरी कार्यालयबाट निर्वाचनमा खटिएर आएका प्रहरी निरीक्षकसहितको सुरक्षा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो । 

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले कञ्चनपुरस्थित प्रहरीको विशेष गणबाट प्रहरी उपरीक्षक क्षदीलाल कामतीलाई निर्वाचन अवधिसम्मका लागि दार्चुला खटाएको उहाँले जानकारी दिनुभयो । दार्चुलामा प्रहरीको पाँच सयभन्दा बढी जनशक्ति छ भने ८८४ निर्वाचन प्रहरी खटाइएका छन् । निर्वाचनको सुरक्षाका लागि सरकारको निर्णय गरे अनुसार नेपाली सेनालाई निर्वाचन हुनुभन्दा एक महिना पहिलेदेखि सुरक्षामा जिल्लाभरि खटाएको खलङ्गास्थित श्रीदल गुल्मका गुल्मपति सागरविव्रmम शाहले जानकारी दिनुभयो । 

कर्मचारीले बुझे मतपेटिका 

बैतडी समाचारदाताका अनुसार निर्वाचनका लागि कर्मचारीले मतपेटिकासहितका ८१ वटा निर्वाचन सामग्री बुझेर मतदान स्थलतर्फ खटिएका छन् । 

बैतडीका १० वटा स्थानीय तहका ८४ वडामा १२९ वटा मतदान स्थलभित्र २१५ वटा मतदान केन्द्र रहेका छन् । यहाँ खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित एक हजार ३८८ जनासहित ४३७ स्वयंसेवक गरेर एक हजार ८२५ जना कर्मचारी परिचालन भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । 

निर्वाचन आयोगले बैतडीका लागि प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र पठाएको छ । मतपत्र खसाल्न ४३८ वटा मतपेटिका प्रयोग हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि मतदान केन्द्रमा मतपत्रलगायतका सामग्री पु¥याउनुपर्ने भएकाले सोही अनुसार निर्वाचन सामग्री हस्तान्तरण गरिएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा यो पटक एक लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा १० राजनीतिक दल र एक जना स्वतन्त्र गरेर ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले भन्नुभयो, “टाढाका मतदान स्थलका मतपेटीमा निर्वाचन सम्पन्न भएकै दिन सदरमुकाममा ढुवानी गर्ने किसिमले सम्पूर्ण जनशक्ति तैनाथ गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चार वटै सुरक्षा निकाय परिचालन गरिएको छ । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बैतडीमा नेपाली सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ । चुनावी सुरक्षा योजना अनुसार जिल्लाका सहरी क्षेत्रमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको बैतडीस्थित श्रीबक्स गुल्मका गुल्मपति, सेनानी पुष्प लामाले बताउनुभयो  । 

कर्मचारीले बुझे पत्र 

बेलौरी समाचारदाताका अनुसार कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारीले नियुक्ति पत्र बुझेका छन् । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र बुझेका हुन् ।  तीन निर्वाचन क्षेत्र अन्तर्गत ३६० मतदान केन्द्रमा दुई हजार १६० कर्मचारी खटिनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचन क्षेत्र नं. १ का १२२ मतदान केन्द्रमा ७३२ कर्मचारी, निर्वाचन क्षेत्र नंं. २ का १२३ मतदान केन्द्रमा ७३८ जना र निर्वाचन क्षेत्र नंं. ३ का ११५ मतदान केन्द्रमा ६९० कर्मचारी खटिएका छन् ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल दुई हजार १६० जना कर्मचारी परिचालन गरिँदै छ । 

यसै गरी निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री तथा मतपत्र पनि जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा पुगिसकिएको सूचना अधिकारी महराले बताउनुभयो । उहाँका अनुसार सोमबार बिहान  निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री तथा मतपत्र हस्तान्तरण गरिने छ ।