• १२ वैशाख २०८१, बुधबार

संकटमा नेपालको एक दिवसीय मान्यता

blog

स्कटल्यान्डमा सिरिज खेलेर मंगलबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ३ गते । कोरोनाको महामारी अघिसम्म नेपाली क्रिकेट विश्व जगतमा चर्चाको शिखरमा थियो । नेपालका क्रिकेट खेलाडी, प्रशिक्षक र व्यस्थापनको मन मिलेको थियो । टोलीको लक्ष्य टी–२० विश्वकप फेरि खेल्ने, नेपालको एक दिवसीय मान्यता कायम राख्दै एक दिवसीय विश्वकप खेल्ने र नेपाललाई टेस्ट राष्ट्रमा पुर्‍याउने । तर, पछिल्लो समय नेपाली राष्ट्रिय टोलीको प्रदर्शन विस्तारै बिर्सन लायक बन्दैछ । गत फागुनमा ओमानमा भएको आईसीसी टी–२० ग्लोबल छनोट खेलमा समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भयो । 

त्यस हारले नेपाल अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप नजिक पुगेर बाहिरियो । यसअघि २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपालको दोस्रो पटक विश्वकप पुग्ने सपना चकनाचुर बनेको थियो । 

टी–२० विश्वकप गुमाएको नेपाललाई आईसीसी विश्वकप लिग–२ डिभिजनमा राम्रो गर्दै भारतमा सन् २०२३ मा आयोजना हुने एक दिवसीय विश्वकप खेल्ने मौका छ । तर लिग–२ अन्तर्गत सिरिजका पछिल्ला खेलमा नेपाल खराव प्रदर्शनबाट गुज्रिएको छ । बलिङले जेनतेन धानिएको नेपाली टोलीको ब्याटिङ कमजोर बनिरहेको छ । कमजोर ब्याटिङकै कारण नेपाल हालै स्कटल्यान्डमा सम्पन्न नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय सिरिजको चार खेलमा तीन हार र एक जितको नतिजा सामना गर्दै स्वदेश फर्किएको छ । 

यसअघि अमेरिकामा भएको त्रिदेशीय सिरिजमा पनि नेपाली टोलीको ब्याटिङ कमजोर बन्यो । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिजमा नेपालले दुई हार, एक जित र एक बराबरीको नजिता आत्मसात गरेको थियो । बलिङमा औसत प्रदर्शन गरिरहेको नेपालले लिग–२ मा आधाभन्दा बढी खेल खेलिसकेको छ । हरेक खेलमा ब्याटिङ गर्न नसक्दा नेपाल विस्तारै कमजोर बन्दै गएको छ । 

कमजोर बन्दै अंक तालिका

लिगमा २० खेल सकेको नेपाल १७ अंकसहित तालिकाको छैटौं स्थानमा छ । सबै खेल सकेको ओमान ३६ खेलबाट ४४ अंक जोड्दै शीर्षस्थानमा छ । २४ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको यूएईले २२ खेलबाट २६ अंक बनाएको छ । चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २२ अंक, पाँचौं स्थानमा रहेको नामिबियाको १८ खेलबाट १८ अंक र अन्तिम तथा सातौं स्थानमा रहेको पपुवा न्युगिनीको २० खेलबाट दुई अंक छ । 

नेपालसहित ओमान, यूएई, स्कटल्यान्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् । 

नेपालले अझै विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छन् । जसमध्ये ८ खेल स्वदेशमा र आठ खेल विदेशमा खेल्नेछ तर आईसीसीले बाँकी सिरिज कहाँ कहिले हुने अहिलेसम्म तय गरिसकेको छैन ।

सबै खेलमा राम्रो प्रदर्शन गर्न सके नेपालको विश्वकप यात्रा र एक दिवसीय मान्यता दुवै रहनेछ । जसलाई जोगाउन नेपाली टोलीले ब्याटिङमा उल्लेख्य सुधार गर्न आवश्यक छ । बलिङ र टिम भावनामा समेत एक रुपता कायम गर्नुपर्ने छ । नेपाल क्रिकेट संघ (क्यान) ले समेत एक दिवसीय घरेलु क्रिकेट संरचनामा ध्यान दिन खाँचो छ ।  

खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएर गौरव मानि रहेको क्यानले घरेलु क्रिकेटको संरचना निर्माणमा आँखा चिम्लिँदै जाँदा नेपालको एक दिवसीय मान्यता गुम्ने खतरा बढेको छ ।  नेपाल एक दिवसीय मान्यता जोगाउन कम्तीमा लिग–२ मा शीर्ष पाँच भित्र रहनुपर्ने हुन्छ । 

यस्तो थियो एक दिवसीय रोडम्याप 

सन् २०१९ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ को घोषणा गरेको हो । 

लिग–२ मा एक दिवसीय वरियताको १४ देखि २०औं स्थानमा रहेका सात देशले तीन वर्षको अविधमा नौ वटा त्रिदेशीय सिरिज (कूल ३६) खेल खेल्नुपर्ने मापदण्ड आईसीसीले तय गरेको थियो । 

यस सिरज सन् २०२२ को जनवरीमै सकिनुपर्ने थियो तर कोरोना महामारीका कारण सिरिज प्रभावित बनेको हो । एक दिवसीय विश्वकप सन् २०२३ अक्टोबर-नोभेम्बरमा भारतमा हुनेछ । 

‘कप्तानभन्दा खेलाडीको रुपमा प्रस्तुत हुनेछु’

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो ।

‘हामीले पछिल्ला खेलहरुमा राम्रो गर्न सकेका छैनौं । म कप्तानभन्दा एउटा खेलाडीको रुपमा प्रस्तुत हुनेछु । हामीले अबका दिनमा धेरै मिहेनत गर्न आवश्यक छ । हाम्रो अबको मुख्य लक्ष्य एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नु हो । यसमा हामी सफल हुनेछौं,’ सन्दीपले भन्नुभयो । 

नेपाली टोलीका प्रमुख प्रशिक्षक पुवुदु दसानायकेले पनि लिग–२ मा अझै धेरै खेल बाँकी रहेकाले एक दिवसीय मान्यता कायम राख्न सहज भएको बताउनुभयो । ‘स्कटल्यान्ड भ्रमण सोचे जस्तो भएन । तर पनि अनुभवको हिसाबले सकारात्मक छ । टोलीमा युवा खेलाडी भएकाले अनुभवको खाँचो छ । विस्तारै कमजोरी हल हुनेछ,’ पुवुदुले भन्नुभयो । नेपाली टोलीलाई विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । 

स्कटल्यान्डमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । नेपाल नामिबियासँगको पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यस्तै, स्कटल्यान्डलाई पहिलो खेलमा पाँच विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।