प्रेमराज सिम्खडा
कालीकोट, फागुन १७ गते । कालीकोटमा सात दिनसम्म मदिरा बिक्री बितरण गर्न पूर्णरुपमा निषेध गरिएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, तथा भयरहित बनाउन तोकिएको अबधिमा मदिरा बिक्री बितरण गर्न निषेध गरिएको हो ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलद्वारा हस्ताक्षरित सूचनामा फागुन १६ गते अर्थात शनिवारदेखि २२ गते शुक्रवारसम्म मदिरा बिक्री बितरण गर्न निषेध गरिएको उल्लेख छ ।
जिल्लाको कुनै पनि स्थान, बजार र निजी घर, सार्वजनिक स्थलमा समेत बिक्री गर्न, सेवन गर्न पूर्णरुपमा निषेध गरिएकाले सूचनाको पूर्ण पालना गर्न आदेश गरिएको छ ।
जिल्ला सुरक्षा समितिले जारी गरेको सूचना आदेशलाई उल्लङ्घन गरी मदिराजन्य बस्तु प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कार्वाही गरिने उल्लेख छ । निर्वाचनको समयमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सदभाव कायम राख्न चालिएको कदममा सबै ब्यापारी होटल ब्यावसायी, राजनीति दल, नागरिक समाज र आम नागरिकबाट पूर्ण सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
प्रशासनले जारी गरेको सूचनाको कार्यन्वयन भए नभएको जिल्लाका नौ वटै स्थानीय तहमा रहेका प्रहरी युनिट, निर्वाचना लागि परिचालित नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरीका साथै राष्ट्यि अनुसन्धान बिभागले समेत निगरानी राख्नेछन ।