काठमाडौँ, फागुन १८ गते । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि राजनीतिमा कम सक्रिय रहनु भएका खड्काले आइतबार एक वक्तव्य जारी गर्दै सो कुरा बताउनुभयो।
आगामी फागुन २१ गते प्रतिनिधि सभाका २७५ सिटका लागि हुने निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू यस पटकको निर्वाचनमा उम्मेदवार नबन्नुको कारणबारे माघ ६ गते नै सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेको खड्काले उल्लेख गर्नुभयो ।
मतदातालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते देशभरका मतदान केन्द्रमा उपस्थित भई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख' मा मतदान गर्न धारणा व्यक्त गर्नुभयो ।
नेता खड्काले स्वस्तिक छाप लगाई कांग्रेसलाई भारी बहुमतका साथ विजयी गराउनसमेत आग्रह गर्नुभएको छ । मुलुकको वर्तमान राजनीतिक अवस्था र निर्वाचनको महत्त्वबारे पनि उहाँले संक्षिप्त चर्चा गर्नुभयो।