• १६ फागुन २०८२, शनिबार

मुस्ताङका दुई मतदान केन्द्रमा सतप्रतिशत महिला कर्मचारी

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङ । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १६ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको दुई मतदान केन्द्रमा मतदान अधिकृतसहित सतप्रतिशत महिला कर्मचारी खटिाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङस्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्र र जिल्ला कारागारमा जोमसोममा एक अस्थायी मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । पाँच सय ३१ मतदाता रहेको घरपझोङ–३ स्याङस्थित जनकल्याण आधारभूत मतदान केन्द्रमा जिल्ला न्यायाधिवक्ता सुशिला ज्ञवाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा प्रदेश अस्पतालका नर्स अतिजा शर्मा, सहायक कर्मचारीमा बन्दना घर्ती मगर, गरिमा ओली र उमादेवी राई रहनुभएको छ ।

यसैगरी, जोमसोम कारागारको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत सहायक जिल्ला न्यायधिवक्ता रन्जिता पोख्रेल, सहायक मतदान अधिकृत थासाङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक चित्रकुमारी थापा र सहयोगीमा रमिता कुमारी रोकायालाई खटाइएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो, ‘‘मतदान केन्द्रमा खटिने जनशक्तिलाई धमाधम नियुक्ति प्रदान गरिएको छ, अब केन्द्रमा खटिएर तयारीमा जुट्न निर्देशन दिइएको छ ।’’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३९ मतदानस्थल रहेको मुस्ताङमा एक मतदान अधिकृत जगेडामा राख्ने गरी ४० मध्ये ६ जना निर्वाचन अधिकृत र ७ जना सहायक निर्वाचन अधिकृतमा महिला रहेकोमा महिलाले नेतृत्व गरेको मतदान केन्द्रहरूमा लोमान्थाङ गाउँपालिका–१ निफुक नामडोल नार्बुलिङ गुम्बामा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्रशासकीय अधिकृत शोभा पुन, वारागुङ मुक्तिक्षेत्र–५ फल्याकस्थित जनमुक्ति आधारभूत मतदान केन्द्रको मतदान अधिकृतमा प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कँडेल रहनुभएको छ ।

यसैगरी थासाङ गाउँपालिका–१ टुकुचेस्थित योगेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रको मतदान अधिकृतमा थासाङ गाउँपालिका लेखा अधिकृत शकुन्तला अधिकारी र थासाङ गाउँपालिका–२ सौरु आधारभूत मतदान केन्द्रको मतदान अधिकृतमा प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङलाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको हो ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई व्यवस्थापनमा कुनै समस्या भए वा अन्य जटिल समस्या भएमात्रै मतदान अधिकृत हेरफेर गरिने बताउनुभयो । मतदान केन्द्रमा खटिएका महिला निर्वाचन अधिकृतमा स्वास्थ्य, प्राविधिकसहित तीनै तहका सरकार मातहतका अधिकृत स्तरका कर्मचारी हुनुुहुन्छ । मुस्ताङमा स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि प्राप्त जिम्मेबारीलाई पुरा गरी नमुना केन्द्र बनाउने मतदान अधिकृतको भनाई छ । जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार तीन सय २८ रहेको छ । जिल्लाभर २१६ जना कर्मचारी जनशक्ति परिचालन गरिएको छ ।