प्रकाशविक्रम शाह
धनगढी, फागुन १६ गते । राजनीतिमा पढेलेखेका आउँदैनन् भन्ने चर्चा सधैँ चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधि गरेका चार जना चुनावी मैदानमा उत्रिएका छन् तर चारै डाक्टरले चुनाव जित्न कडा मेहनत गर्नुपर्ने देखिएको छ । तीमध्ये तीन जना डा. भीमबहादुर रावल, अछाम–१; डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ र डा. ताराप्रसाद जोशी डडेलधुरामा लामो समयदेखि राजनीतिमा हुनुहन्छ । कैलाली–५ बाट डा. आनन्द चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ ।
नेता रावलले राजनीतिक हिंसा तथा माओवादी विद्रोहमा विद्यावारिधि गर्नुभएको छ । यस्तै गरेर कञ्चनपुर–३ का भट्टले भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), दिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्नुभएको छ । नेपालबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक अध्ययन गरेका डडेलधुराका उम्मेदवार जोशीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गर्नुभएको छ । कैलाली–५ का उम्मेदवार चन्दले जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना एएन्डटी स्टेट युनिभर्सिटीसँगको सहकार्यमा विद्यावारिधि गर्नुभएको छ ।
लामो समय नेकपा (एमाले) को राजनीतिमा रहेर सो पार्टीको केन्द्रीय उपाध्यक्षसमेत भएका डा. भीमबहादुर रावल अछाम–१ बाट यस पटक नेकपाको उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँले एमालेबाट २०५१, २०७० र २०७४ चुनाव जित्नुभएको थियो । चार पटक एमालेबाट मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसक्नुभएको छ । तर २०७९ मा अछामबाट एकल नाम सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाएका रावललाई गत वर्ष एमालेले कारबाही गरेको थियो । त्यसपछि मातृभूभि जागरण अभियान सञ्चालन गरेका रावल केही समयअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीमा जोडिएर चुनावी मैदानमा हुनुहुन्छ ।
नेकपाबाट चुनाव लड्दा रावललाई नेपाली कांग्रेसका भरतबहादुर स्वाँर र नेकपा (एमाले) का दीपकबहादुर साउदले कडा चुनौती दिइरहनुभएको छ । स्वाँर पुराना राजनीतिज्ञ, २०४९ मा अछाम जिविसका सभापति र कांग्रेसको जिल्ला सभापतिसमेत भइसक्नुभएको छ भने माओवादी जनयुद्धमा होमिएका साउद सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सदस्यसचिव भइसक्नुभएको छ । विसं २०७९ को चुनावको समानुपातिक मतका आधारमा डा. रावलले जित्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । डा. रावलनिकट एकिन्द्र कुँवर शेरबहादुर देउवापछि सुदूरपश्चिमबाट राष्ट्रिय उचाइको नेता भएकाले पार्टीभन्दा माथि उठेर मतदाताले मतदान गर्ने दाबी गर्नुहुन्छ ।
डा. रावलले अछामका विभिन्न घरदैलो र कार्यक्रममा पनि देउवाको राजनीतिक अवकाश भएको जस्तो भएकाले सुदूरपश्चिमबाट राजनीतिक नेतृत्व गर्ने गरी आफूलाई जिताउन आग्रह गरिरहनुभएको छ ।
विसं २०७९ मा अछाम–१ मा हालको नेकपा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सात हजार २२८ र समाजवादीले दुई हजार ७४७ गरी नौ हजार ९७५ मत पाएको थियो भने कांग्रेसले १४ हजार ५२५ र एमालेले १३ हजार ९६८ मत पाएको थियो ।
कञ्चनपुर–३ बाट एमालेका उम्मेदवार डा. दीपकप्रकाश भट्टलाई नेपाली कांग्रेसका हरि बोहोरा र नेकपाका मानबहादुर सुनारले टक्कर दिइरहनुभएको छ । भट्ट सोही क्षेत्रबाट २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उम्मेदवार डा. भट्टले भने महेन्द्रनगरमा विमानस्थाल निर्माण गर्ने, सुदूरपश्चिम विश्वविद्यालय, सुक्खा बन्दरगाह, गेटाको मेडिकल विश्वविद्यालय बनाउने जस्ता काममा गरेको योगदानले गर्दा आफूले चुनाव जित्ने दाबी गर्नुभयो । सो क्षेत्रमा गत निर्वाचनको समानुपातिक मत हेर्दा कांग्रेसले २० हजार ५७९, एमालेले ११ हजार ८१६ र हालको नेकपा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले चार हजार ४६२ र समाजवादीले तीन हजार ९३३ गरी आठ हजार ३९५ मत पाएको थियो ।
डडेलधुरामा डा. ताराप्रसाद जोशीलाई २०४८ देखि २०७९ सम्म लगातार सात पटक चुनाव जितेका कांग्रेसका नैनसिंह महर, एमालेका चक्र स्नेही र नेकपाका मानसिंह मालले टक्कर दिइरहनुभएको छ । डा. जोशी भने स्वतन्त्र भएर पनि प्रदेश सभा जितेको, डडेलधुराको विकासनिर्माणमा २०५४ सालदेखि काम गर्दै आएको र कांग्रेसभित्रको विवादका कारण जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । एमालेबाट राजनीति सुरु गरेका डा. जोशी प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बन्नुभएको छ ।
डडेलधुरामा २०७९ को समानुपातिक मतपरिणाम हेर्दा कांग्रेसले १८ हजार ५६३, एमालेले नौ हजार २१४, हालको नेकपा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले आठ हजार ७११ र समाजवादीले ६११ गरी नौ हजार ३२२ र रास्वपाले तीन हजार ६५० मत पाएको थियो ।
कैलाली–५ मा पनि रास्वपाका डा. आनन्द चन्दलाई कांग्रेसका नरनारायण शाह, एमालेका यज्ञराज ढुङ्गाना, नेकपाका प्रेम आलेमगर भारी पर्ने देखिन्छ । यो क्षेत्रमा अरू उम्मेदवारको तुलनामा डा. चन्द नयाँ अनुहार मानिनुहुन्छ । आले डोटीबाट तीन पटक जित्नुभएको, मन्त्री हुनुभएको; कांग्रेसका प्रदेश महामन्त्री शाह र एमालेका जिल्ला अध्यक्ष ढुङ्गाना यही क्षेत्रमा राजनीति र सामाजिक काम गरेकाले चिरपरिचित हुनुहुन्छ । शाह र ढुङ्गाना भने पहिलो पटक संसदीय चुनावमा होमिनुभएको हो । डा. चन्दले भने अहिले रास्वपाको समय र चुनावी एजेन्डाले गर्दा चुनाव जित्नेमा ढुक्क रहेको बताउनुभयो । विसं २०७९ को समानुपातिक मत अनुसार कैलाली–५ मा कांग्रेसले १५ हजार ६१७, एमालेले १४ हजार ३२१, हालको नेकपा (तत्कालीन माओवादी केन्द्र र समाजवादीको जोड्दा) छ हजार ६५६ र रास्वपाले चार हजार ४५५ मत पाएको थियो ।