• १६ फागुन २०८२, शनिबार

योग्य उम्मेदवार छान्ने आधार

blog

देशलाई आज यस्तो जनप्रतिनिधि चाहिएको छ, जो ठुला भाषणले होइन, सानो तर स्थायी कामले चिनियोस् । जो भिडको तालीले होइन, समुदायको विश्वासले बलियो होस् । अबको चुनावमा हाम्रो प्रश्न र त्यसको निरूपण यी विषयका आधारमा हुनु पर्छ । हामीलाई ‘हेभी वेट’ चाहियो कि ‘हेल्दी वेट’ ? शक्तिशाली व्यक्ति चाहियो कि सन्तुलित र पारदर्शी प्रणाली ? लोकतन्त्रलाई तौल थपेर होइन, सन्तुलन मिलाएर मात्र बलियो बनाउन सकिन्छ ।

नेपाली राजनीतिको रङ्गमञ्चमा निर्वाचनको साइत जुर्नेबित्तिकै एउटा राजनीतिक पदावली निकै चर्चामा आउँछ ‘हेभी वेट’ उम्मेदवार । चोक, चौतारीदेखि मिडियाका हेडलाइनसम्म कुन निर्वाचन क्षेत्रमा कुन दलको कस्तो ‘हेभी वेट’ उम्मेदवार उठ्यो भन्ने बहसले प्राथमिकता पाउँछ । सामान्य अर्थमा हेभी वेट भन्नाले उम्मेदवारको प्रभाव, शक्ति, पैसा, पहुँच र संसाधनको सम्पन्नतालाई बुझिन्छ । के लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो ‘वजन’ फलदायी छ त ? गम्भीरतापूर्वक विश्लेषण गर्ने हो भने, लोकतन्त्र बलियो बनाउन ‘हेभी वेट’ होइन, ‘हेल्दी वेट’ भएका उम्मेदवारको आवश्यकता छ । ‘हेल्दी वेट’ को अवधारणा हेभी वेटको प्रतिभाष्य हो । फागुन २१ गते हुने सङ्घीय संसद्को चुनावलाई दृष्टिगत गरी यसको विमर्श गरौँ ।

लोकतन्त्रको जोखिम

‘हेभी वेट’ भनिएका उम्मेदवार अक्सर शक्तिको केन्द्रीकरणतर्फ उन्मुख हुन्छन् । उनीहरूको पछाडि धन–सम्पत्ति, बाहुबल र कार्यकर्ताको ठुलो घेरा, पार्टीको उच्चासन र पङ्क्ति हुन्छ । यस्तो वजनले व्यक्तिलाई त ठुलो बनाउँछ तर लोकतान्त्रिक संस्थालाई भने कमजोर तुल्याउँछ । ‘हेभी वेट’ राजनीतिले ‘व्यक्तिपूजा’ को संस्कारलाई बढावा दिन्छ, जहाँ विचार र नीतिभन्दा व्यक्तिको कद ठुलो मानिन्छ । यस्ता नेताहरू चुनाव जित्न त माहिर हुन्छन् तर उनीहरूले लोकतन्त्रलाई सुदृढ बनाउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । हेभी वेट उम्मेदवारको ध्यान अक्सर शक्ति टिकाइराख्न र स्रोतको दोहन गर्नमा केन्द्रित हुन्छ, जसले गर्दा ‘क्रोनी क्यापिटालिज्म’ (आसेपासे पुँजीवाद) मौलाउँछ । यसले निर्वाचनलाई महँगो बनाउँछ र सामान्य तर योग्य नागरिकका लागि चुनाव लड्नु असम्भव प्रायः बनाइदिन्छ । गरिबका लागि हाम्रो निर्वाचन प्रणाली अभिशाप सिद्ध भएको छ ।

योग्यता र नैतिकताको कसी

‘हेल्दी वेट’ कुनै पार्टी विशेषले दिने ट्याग होइन, यो त उम्मेदवारको विशिष्ट व्यक्तिगत र राजनीतिक क्षमता हो । हेल्दी वेट राजनीति भनेको सन्तुलनको राजनीति हो, जहाँ शक्तिसँगै जिम्मेवारी र उत्तरदायित्वको बराबर हिस्सा हुन्छ । यसले नेताको नैतिक निष्ठालाई जनाउँछ । नैतिकतालाई प्राथमिक विषय बनाएर प्रस्तुत गर्छ । एउटा ‘हेल्दी वेट’ भएको नेता त्यो हो, जो चुनाव जित्नका लागि धन (मनी मसल्स) को होइन, आफ्नो विचार, भिजन र कार्ययोजना, माइन्डको सहारा लिन्छ । नेता कति पारदर्शी छ ? कति स्वावलम्बी छ ? कति विनयी र उत्पादनशील छ ? कति दूरदर्शी र मितव्ययी छ ? यसैमा उसको वास्तविक तौल मापन गरिनु पर्छ । हेल्दी वेट उम्मेदवारले जनमतलाई ‘लाइसेन्स’ को रूपमा होइन, एक गम्भीर ‘उत्तरदायित्व’ को रूपमा लिन्छ । जितेर गएका वा उमेद्वार भएकाहरू आफ्नो क्षेत्र र उमेद्वार दिएको भूगोलप्रति कति संवेदनशील भए चुनाव जित्दा होस् या पराजय हुँदा त्यसले हेल्दी उमेद्वारको मापन गर्न सहज हुन्छ ।

नीतिनिर्माता कि ‘सेलिब्रिटी’ ?

हाम्रो लोकतान्त्रिक गणतन्त्रमा देखिएको एउटा ठुलो समस्या भनेको सांसदको भूमिकालाई बुझ्न नसक्नु हो । सङ्घीय सांसदको उम्मेदवार रोज्नु कुनै ठट्टा वा मजाकको विषय होइन । सांसदहरू संसद्मा अभिनय गर्न वा चर्चा कमाउन जाने होइनन्, उनीहरू राष्ट्रको नीतिनिर्माण गर्ने र कानुन बनाउने सर्वोच्च थलोमा जाने हुन् । पछिल्लो समय ‘लोकप्रियतावाद’ का कारण संसद्लाई हल्का रूपमा लिने र केवल ‘सेलिब्रिटी’ छवि भएकालाई छान्ने भाष्य निर्माण हुँदै छ, जुन घातक छ । संसद्मा छिर्ने व्यक्ति चर्चित हुनुभन्दा पनि राजनीतिक रूपले स्वस्थ, सामाजिक रूपले समावेशी, न्यायिक र अध्ययनशील हुनु अनिवार्य छ । ऊसँग देशको माटो चिनेको र नागरिकको मर्म बुझेको उच्च राजनीतिक चेत हुनु पर्छ ।

योग्य सांसदका मापदण्ड

एउटा स्वस्थ लोकतन्त्रका लागि सांसदमा निम्न विशिष्ट योग्यता हुन आवश्यक छ ।

कानुनी र नीतिगत साक्षरता : सांसद बन्न जाने व्यक्तिमा संविधान, ऐन–कानुन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौता बुझ्न सक्ने र तिनको प्रभाव विश्लेषण गर्न सक्ने अध्ययनशील खुबी हुनु पर्छ । संसद्मा भावनामा बहकिएर होइन, तथ्य र तथ्याङ्कका आधारमा तर्क गर्न सक्ने क्षमताले मात्रै राष्ट्रको हित गर्छ । 

स्वच्छ छवि र स्वार्थको द्वन्द्व : विगतमा कुनै पनि भ्रष्टाचार, फौजदारी कसुर वा नैतिक पतन हुने कार्यमा संलग्न नभएको सफा छवि हुनु पर्छ । विशेष गरी, ठेक्कापट्टा, व्यापार वा व्यक्तिगत लाभका लागि नीतिगत निर्णयमा प्रभाव नपार्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नभएको व्यक्ति नै संसद्का लागि योग्य मानिन्छ । 

सामाजिक परीक्षण र स्वावलम्बन : राजनीतिमा आउनुअघि वा सकिय रहँदा समाजसेवा, उद्यम, शिक्षा वा अन्य क्षेत्रमा ठोस र सकारात्मक योगदान पु¥याएको व्यक्ति ‘सामाजिक परीक्षण’ मा सफल मानिन्छ । साथै आर्थिक रूपमा अरूको अनुचित प्रभावमा पर्न नपर्ने गरी आत्मनिर्भर वा पारदर्शी पेसा भएको स्वावलम्बी उम्मेदवार आजको आवश्यकता हो ।

‘हेल्दी वेट’ का पाँच आधारभूत सङ्केत

उम्मेदवार रोज्दा मतदाताले यी पाँच पक्षलाई सूत्रबद्ध रूपमा हेर्नु पर्छ : पारदर्शिता–जसको चुनाव खर्च र आम्दानीको स्रोत ऐना झैँ छर्लङ्ङ छ । 

 समावेशिता– जसले समाजका हरेक वर्ग, जातजाति र भूगोलको संवेदनशीलतालाई आत्मसात् गर्छ । 

दूरदर्शिता– जो केवल अर्को चुनाव जित्ने रणनीतिकार मात्र होइन, आगामी पुस्ताको भविष्य कोर्ने भिजनरी हो । 

मितव्ययिता – जसको जीवनशैली सरल छ र जसले राजकीय स्रोतको दुरुपयोग गर्दैन । 

न्यायिक दृष्टि – नीतिनिर्माण गर्दा सबै नागरिकलाई समान न्याय हुने गरी सोच्न सक्ने उच्च नैतिक बल ।

राजनीतिमा उमेर समूह– न योग्यता न निषेध राजनीतिमा उमेरको बहस प्रायः दुई किनारामा हुने गर्छ । एउटा पक्षले ‘अनुभव’ को नाममा पाकाहरूलाई मात्रै ठाउँ दिन्छ भने अर्को पक्षले ‘जोस’ को नाममा युवालाई मात्रै योग्य देख्छ । ‘हेल्दी वेट’ को दृष्टिकोणबाट हेर्दा उमेर समूह आफैँमा न योग्यता हो, न त निषेध नै गर्ने विषय हो । एउटा २० वर्षको युवामा परिपक्व नीतिगत चेत र देशको माटो चिनेको भिजन हुन सक्छ भने ७० वर्षको वृद्धमा पनि उत्तिकै जोस, नवीन विचार र प्रविधिमैत्री सोच हुन सक्छ । उमेर केवल एउटा अङ्क हो; वास्तविक योग्यता त व्यक्तिको ‘राजनीतिक चेत’, ‘अध्ययनशीलता’ र ‘कार्यक्षमता’ मा निर्भर गर्छ ।

संसद्लाई न केवल वृद्धहरूको विश्रामस्थल बनाइनु पर्छ न त अनुभवहीनहरूको प्रयोगशाला । हामीलाई यस्तो जनप्रतिनिधि चाहिएको हो, जोसँग युवाको जस्तो नवीन सोच र जोस होस्, अनि पाकाहरूको जस्तो धैर्य र अनुभवको सन्तुलन होस् । त्यसैले, मतदाताले उम्मेदवारको उमेर हेरेर होइन, उसको विचारको ‘तौल’ र कार्यक्षमताको ‘स्वस्थता’ हेरेर मतदान गर्नु पर्छ । उमेरले कसैलाई स्वतः योग्य बनाउँदैन र उमेरकै कारण कसैको क्षमतामाथि निषेध गरिनु पनि लोकतान्त्रिक न्याय होइन ।

मतदाताको जिम्मेवारी

सङ्घीय सांसद रोज्नु भनेको देशको ‘मस्तिष्क’ छान्नु हो । जब हामी भोटलाई केवल एउटा छाप लगाउने प्रक्रिया, रमाइलो वा क्षणिक आवेगका रूपमा लिन्छौँ, तब संसद् कमजोर हुन्छ र अन्ततः देशकै विकासको गति अवरुद्ध हुन्छ । मतदाताले अब उम्मेदवारको बाहिरी चमकधमक र ‘हेभी वेट’ को भ्रमलाई चिर्नु जरुरी छ । चुनाव आफैँमा एउटा रङ्गमञ्च जस्तै देखिए पनि यसको अन्तिम उद्देश्य 

‘अभिनय’ होइन, ‘उत्तरदायी शासन व्यवस्था’ को सुन्दर अभ्यास हो । लोकतन्त्रको असली तौल भिड, शक्ति, पैसा र पहुँचले नापिँदैन; यो त पारदर्शिता र जवाफदेही कर्तव्यले नापिन्छ ।

निष्कर्ष

देशलाई आज यस्तो जनप्रतिनिधि चाहिएको छ, जो ठुलो भाषणले होइन, सानो तर स्थायी कामले चिनियोस् । जो भिडको तालीले होइन, समुदायको विश्वासले बलियो होस् । अबको चुनावमा हाम्रो प्रश्न र त्यसको निरूपण यी विषयका आधारमा हुनु पर्छ । हामीलाई ‘हेभी वेट’ चाहियो कि ‘हेल्दी वेट’? शक्तिशाली व्यक्ति चाहियो कि सन्तुलित र पारदर्शी प्रणाली ? लोकतन्त्रलाई तौल थपेर होइन, सन्तुलन मिलाएर मात्र बलियो बनाउन सकिन्छ । निर्वाचनको दिन गरिने एउटा गम्भीर निर्णयले आगामी पाँच वर्षको मात्र होइन, आउँदो पुस्ताको भाग्य तय गर्ने छ । त्यसैले भोटलाई मजाक होइन, एउटा पवित्र र जिम्मेवार नागरिक कर्तव्यको रूपमा आत्मसात् गरौँ । ‘हेल्दी वेट’ भएका, माटोलाई माया गर्ने र सामाजिक न्यायका हितार्थीलाई संसद् पु¥याउनु नै आजको मुख्य कार्यभारको रूपमा ग्रहण गरौँ ।