वासिङ्टन, फागुन १५ गते । विनाशकारी गाजा युद्धपछि सार्वजनिक भएको ग्यालप पोलले अमेरिकीले पहिलो पटक इजरायलभन्दा बढी प्यालेस्टिनीसँग सहानुभूति राखेको देखाएको छ । सर्वेक्षण अनुसार ४१ प्रतिशत अमेरिकीले प्यालेस्टिनी पक्षलाई समर्थन गरेका छन् भने ३६ प्रतिशत इजरायलको पक्षमा छन्, बाँकीले निर्णय गरेका छैनन् वा दुवैलाई मन पराउँदैनन् ।
गत वर्षको तुलनामा ठूलो परिवर्तन देखिएको छः अमेरिकीको ४६ प्रतिशत इजरायल पक्षमा र ३३ प्रतिशत प्यालेस्टिनी पक्षमा सहानुभूति राख्थे, स्वतन्त्र मतदाताले ११ प्रतिशत अङ्कले प्यालेस्टिनीको पक्ष लिएका छन् । रिपब्लिकन मतदाताले अझै इजरायललाई बलियो समर्थन गरिरहेका छन्, ७० प्रतिशतले इजरायलको पक्षमा रहँदै आएको उल्लेख छ, यद्यपि यो सङ्ख्या विगत दशकमा १० प्रतिशतले घटेको छ ।
डेमोक्रेटिक मतदातामा पनि सहानुभूति परिवर्तन भएको छ; पछिल्लो सर्वेक्षणमा ६५ प्रतिशतले प्यालेस्टिनी र १७ प्रतिशतले इजरायलप्रति सहानुभूति व्यक्त गरेका छन् । विश्लेषकका अनुसार इजरायलको दायाँतिर झर्ने राजनीतिक प्रवृत्ति र २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणले अमेरिकी जनताको दृष्टिकोणमा परिवर्तन ल्याएको छ । ग्यालपले फेब्रुअरी २ देखि १६ सम्म टेलिफोनमार्फत एक हजार एक अमेरिकी वयस्कबिच सर्वेक्षण गरेको थियो र यसले मध्यपूर्वी द्वन्द्वमा अमेरिकी जनताको सहानुभूतिको नयाँ रेखा देखाएको छ । रासस/एएफपी