• १२ पुस २०८१, शुक्रबार

असार बित्यो, देशभर ६० प्रतिशत मात्र रोपाइँ

blog

काठमाडौं,साउन ३ गते । असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर  क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको  मन्त्रालयको तथ्यांक छ ।

गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।गत वर्षको तुलनामा आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको मन्त्रालयले जनाएको  । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको देखिएको छ । 

प्रदेश १ मा तीन लाख ४० हजार हेक्टर, मधेश प्रदेशमा चार लाख पाँच हजार हेक्टर, बागमती प्रदेशमा एक लाख २० हजार हेक्टर,गण्डकी प्रदेशमा एक लाख हेक्टर,लुम्बिनी प्रदेशमा तीन लाख २० हजार हेक्टर,कर्णाली प्रदेशमा ३८ हजार हेक्टर र सुदूरपश्चिम प्रदेशमा एक लाख ५५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । 

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो हप्तासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । अहिलेसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।