• २८ वैशाख २०८१, शुक्रबार

कृषि सामग्री तथा बीउबिजन वितरण

blog

वालिङ, साउन ३ गते । वालिङ नगरपालिकाले स्थानीय कृषक तथा उद्यमीलाई कृषि सामग्री तथा बीउबिजन वितरण गरेको छ । नगरपालिका र यूएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा ‘हरित पुनः उत्थान तथा कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार र बीउबिजन वितरण गरिएको हो । 

नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले वास्तविक कृषकहरूलाई आवश्यक सहयोग गरी उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनुभयो । कृषकले गरेको मागका आधारमा कृषक तथा उद्यमीहरूलाई आवश्यक सामग्री उपलब्ध गराइएको थप जानकारी उहाँले दिनुभयो ।  प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरूको सोच र सीपमा परिवर्तन ल्याएमा मात्रै उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । उहाँले कृषक तथा उद्यमीहरूलाई उपलब्ध गराइएको सामग्रीहरूको सही सदुपयोग गर्न सुझाव दिनुभयो । 

कृषक तथा उद्यमीहरूको माग र सहकारी तथा समूहको आवश्यकताका आधारमा उक्त सामग्री वितरण गरिएको दियालो संस्थाका कार्यवाहक अध्यक्ष सीतादेवी गैह्रे पङ्गेनीले जानकारी दिनुभयो । विभिन्न १० वटा सहकारी तथा समूहलाई बीउबिजन, ४० जना कृषकलाई टनेल, एउटा समूहलाई कम्बाइन मिल, चापकटर र ठेला वितरण गरिएको छ ।