सियोल, फागुन ११ गते । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषिदेखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लीले स्वास्थ्य क्षेत्रमा नियामक सहयोगलाई बढावा दिन समझदारी ज्ञापनपत्र जारी गर्नु भएको छ । जसले दक्षिण अमेरिकामा पठाइएका के-ब्युटी स्किनकेयर उत्पादनका लागि अवरोध कम गर्ने जनाइएको छ । सम्झौतापछि के-ब्युटी उत्पादन “ब्राजिलका उपभोक्ताका लागि अझै बढी पहुँच योग्य हुने लीले बताउनु भएको छ ।
दक्षिण कोरिया विश्वव्यापी सौन्दर्य प्रसोधन उद्योगमा प्रमुख उत्पादकको रूपमा देखा परेको छ, भने हरेक वर्ष अरबौं डलर मूल्यका स्किनकेयर उत्पादन निर्यात गर्दै आएको जनाइएको छ । यसै गरी ब्राजिल संसारमा सौन्दर्य उत्पादनका लागि सबै भन्दा ठुलो बजार हो ।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लीले दुई देशबिचको वार्षिक व्यापार १० अर्ब डलर नाघेको उल्लेख गर्नु भएको छ । ब्राजिल र दक्षिण कोरियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको पनि लीले बताउनु भएको छ । लीले शिखर सम्मेलन अघि लुलाको उद्धारताको प्रशंसा गर्दै दुवै कठिन सुरुवातबाट शीर्ष सम्झौतामा पुगेको बताउनु भएको छ ।
लुलालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेलमा हालिएको थियो, तर न्यायाधीश पक्षपाती भएको फेला परेपछि रिहा गरियो । लीको कार्यालयले लुला र उहाँकी श्रीमती रोसाङ्गेलाको जोडीलाई चित्रण गर्ने रङ्गीन केकले स्वागत गरेको जनाइएको छ । ब्राजिल दक्षिण अमेरिकामा दक्षिण कोरियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ । रासस/एएफपी