कराची, फागुन ११ गते । पाकिस्तान र बङ्गलादेशबिच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवार फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् ।
करिब तीन दशकअघि छोटो भ्रमणका लागि पाकिस्तान आउनु भएका ६० वर्षीय शाह आलम अझै कराचीमै अड्किनु भएको छ । सुक्खा माछा (सिद्रा) बेचेर जीविकोपार्जन गर्दै आउनु भएका उहाँले बङ्गलादेश फर्कने दृढता व्यक्त गर्नु भएको छ । “म जाने छु”, उहाँले अश्रुपूर्ण हुँदै भन्नुभयो, “ईद अल-अधा पछि म मेरो छोरासँग अवश्य फर्कने छु ।”
उहाँका आमाबाबु र पहिलो पत्नीको निधन भइसक्दा पनि उहाँ घर फर्कन सक्नु भएको थिएन । बङ्गलादेशमा उहाँको कृषि जमिन र पुख्र्यौली घर अझै रहेको बताउनु भएको छ । सन् १९७१ को युद्धअघि एउटै राष्ट्र रहेका पाकिस्तान र बङ्गलादेशबिचको कटु द्वन्द्वपछि लाखौँको ज्यान गएको थियो ।
त्यसयता पाकिस्तानमा दश लाखभन्दा बढी जातीय बङ्गाली बसोबास गर्दै आएको अनुमान छ । कराचीका माचर कलोनी जस्ता क्षेत्रमा बङ्गाली समुदायको बाक्लो उपस्थिति छ, तर धेरै जना नागरिकता र परिचयपत्र अभावमा राज्यविहीन अवस्था जस्तै जीवन बिताइरहेका छन् । २० वर्षीय हुसेन अहमदले आफू बङ्गलादेश जान चाहेको तर नागरिकता कागजात नभएकाले असमर्थ रहेको बताउनुभयो ।
“म पाकिस्तानी हुँ, तर परिचयपत्र छैन”, उहाँले भन्नुभयो । अर्का २२ वर्षीय अहमदले आफ्नो परिवार सन् १९७१ अघि नै पाकिस्तानमा बसोबास गरिरहेको प्रमाणित गर्न नसक्दा सरकारी मान्यता नपाएको गुनासो गर्नुभयो । उहाँहरूका आफन्त बङ्गलादेशमा भए पनि भेटघाट सम्भव भएको छैन ।
गत वर्ष पाकिस्तानका विदेशमन्त्री इशाक दारले ढाका भ्रमण गरी बङ्गलादेशका नेतृत्वसँग भेटवार्ता गर्नु भएको थियो । त्यसपछि दुई देशबिचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको सङ्केत देखिएको छ । हालै निर्वाचित बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको कार्यकालमा पनि कूटनीतिक संवाद निरन्तर रहने अपेक्षा गरिएको छ ।
कराचीका स्थानीय राजनीतिज्ञ मुहम्मद रफिकल हुसेनका अनुसार पाकिस्तानभरि फैलिएका बङ्गाली समुदायले अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका छन् । “यो हाम्रो चौथो पुस्ता हो”, उहाँले भन्नुभयो, “सौहार्दपूर्ण सम्बन्धले दुवै देशलाई फाइदा पुर्याउने छ ।” तर सामुदायिक कार्यकर्ता हाफिज जैनुलाब्दीन शाहले बङ्गालीले स्थानीय भाषा अपनाउँदै जाँदा आफ्नो सांस्कृतिक पहिचान कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो ।
राजनीतिक उतारचढाव र पहिचानको द्विविधाबिच कराचीका बङ्गाली अहिले एउटा साझा आशामा बाँधिएका छन्सी-मापार उडानसँगै बिछोडिएका परिवार फेरि एक हुने दिन नजिकिएको अनुभूति । “यो सम्बन्ध सदाका लागि कायम रहोस्”, शाहले भन्नुभयो, “हामी अभावबिच पनि आशावादी छौँ ।”रासस/एएफपी