कोकिला ढकाल
इलाम, फागुन ११ गते । आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चारकर्मीहरुसँग निर्वाचन आचारसंहिता विषयक छलफल गरेको छ ।
निर्वाचनका बेला हुनसक्ने आचार संहिता उलङ्घनसहित सञ्चारकर्मीहरुले गर्ने ‘रिपोटिङ’ का विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा आउँदो निर्वाचनका दिन र मतगणनाको समयमा सञ्चाकर्मीहरुलाई सहज रिपोटिङका लागि वातावरण मिलाउन सञ्चारकर्मीहरुले आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईंले अघिल्ला निर्वाचनहरुमा भएका अनुुभव र घटनालाई मध्यनजर गर्दै यसपटक निर्वाचनमा खटाइने कर्मचारी र सुरक्षाकर्मीलाई तालिममै सञ्चारकर्मीहरुलाई सहज वातावरण मिलाउने गरि सुुझाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा महासंघ इलाम शाखाका पूर्व सभापति सोम सुुसेली र पूूर्वअध्यक्ष सटेन्द्र जबेगुुले निर्वाचनको दिन र मतगणनाका समयमा पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले यसपटक सञ्चारकर्मीहरुलाई सहज ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रोशन गजुरेल, जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुँयल, सुुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।