• ११ फागुन २०८२, सोमबार

ब्रिटिश गोर्खाली क्रिकेट लिगलाई ब्रिज इन्टरनेशनलको साथ

blog

‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) का लागि प्रायोजन सम्झौता गरिँदै ।

काठमाडौँ, माघ ११ गते । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था  ‘ब्रिज इन्टरनेशनल’ बनेको छ ।

लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबिच प्रायोजन सम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता कार्यक्रमकम प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । 

यस्तै केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले पनि लिगको सफलताको कामना गर्नुभयो । 

ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अगाडि बढाउन यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 

संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो । बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो र एकमात्र लिग हो ।

हालसम्म पाँच सफल संस्करण सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ । कार्यक्रममा बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता र प्राविधिक पक्षबारे जानकारी दिनुभएको थियो ।