• ११ फागुन २०८२, सोमबार

सल्यानमा मतदान केन्द्र अनुगमन सम्पन्न

blog

कपुरकोट गाउँपालिकाका-१० मतदान केन्द्रको अनुगमनसँगै जिल्लाभरका मतदान केन्द्रको निरीक्षण । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन ११ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानका सबै मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न गरिएको छ। कपुरकोट गाउँपालिकाका १० मतदान केन्द्रको अनुगमनसँगै जिल्लाभरका मतदान केन्द्रको निरीक्षण कार्य टुङ्गिएको हो।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्याथलय तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको संयुक्त टोलीले मतदान स्थलको अनुगमन गरेको हो। अनुगमनका क्रममा मतदान केन्द्रको भौगोलिक अवस्था, व्यवस्थापन तयारी, मतदाताको पहुँच, निर्वाचन सामग्रीको उपलब्धता, मतपेटिका सङ्कलन तथा सुरक्षाको व्यवस्थाजस्ता विषयमा विशेष ध्यान दिइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले अनुगमनका क्रममा मतदाता, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग अन्तरक्रिया गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रको सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनका विषयमा निरन्तर समीक्षा भइरहेको छ।

जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले शनिबार कपुरकोटका १० मतदान केन्द्रको निरीक्षण सम्पन्न भएसँगै जिल्लाका सबै मतदान स्थलको अनुगमन कार्य सकिएको बताउनुभयो। उहाँका अनुसार जिल्लामा रहेका १ सय १७ मतदान स्थलमध्ये १७ वटा सामान्य श्रेणीमा रहेका छन् भने बाँकी अधिकांश स्थल संवेदनशील र अतिसंवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षाका लागि खटिने अस्थायी प्रहरी परिचालनको तयारी पूरा भइसकेको छ।

जिल्लामा कुल १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्। तीमध्ये ८३ हजार ३ सय २१ पुरुष र ७९ हजार १ सय २८ महिला मतदाता छन्। प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लामा १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।