• ११ फागुन २०८२, सोमबार

किम पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको सङ्केत

blog

सियोल, फागुन ११ गते । उत्तर कोरियाली नेता किम जोङ-उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित हुनुभएको छ । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उहाँको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन हुनुभएको हो । पार्टी नियम अनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ । बयालिस वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहनु भएको छ–पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आउनु भएको छ ।

कङ्ग्रेसको प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगी र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ । पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

बैठकले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारी र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिनु भएको छ । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारी पनि सूचीमा समावेश हुनुभएको छैन । 

अन्तर-कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताउनु भएको छ । विश्लेषकले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आँकलन गरेका छन् । उहाँले विशेषतः महामारीपछि चीनसँगको व्यापार र रसियासँगको सहकार्यबाट लाभ लिने रणनीतिका बिच जन-परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

किमले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर वार्ता गर्नुभएको थियो । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले पुनः निर्वाचनमा बधाई सन्देश पठाउनुभएको छ । युक्रेन युद्धमा रूससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि वासिङ्टन र सियोलसँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीति स्थगित गरेको थियो । हालै किमको सरकारले वासिङ्टनसँग वार्ताका लागि उत्तर कोरियाको आणविक निशस्त्रीकरण पूर्वशर्त हटाउन आग्रह गर्दै आएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियासँगको शान्तिपूर्ण पुनर्मिलन नीति त्याग्दै उसलाई स्थायी शत्रु घोषणा गर्नुभएको थियो । यसले अन्तर-कोरियाली सम्बन्ध झन् जटिल बनेको छ । रासस/एपी