ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन ११ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीमा जुटेका छन् ।
मतदान केन्द्रमा पठाउने निर्वाचन सामग्रीहरूको प्याकिङ गर्न कर्मचारी खटेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्रीहरू जिल्लामा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा आएका निर्वाचन सामग्रीहरूको व्यवस्थापन, मतपत्रको रुजु गर्दै प्याकिङ गर्न थालिएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरू मतदाता सङ्ख्या अनुसार मतपत्र मिलाउने, रुजु गर्ने, बिग्रेको मतपत्र हटाउने, मतदान स्थलमा पठाइने मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकिङ गर्ने काममा व्यस्त देखिएका छन् ।
मतदानका लागि मतदान स्थलमा आवश्यक पर्ने मतपत्रलगायत सरसामानको विवरण बनाइ रुजु गर्दै ‘प्याकिङ’ गर्न थालिएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोगबाट प्राप्त भएका मतपत्रहरूको रुजु गर्ने, मतदान केन्द्र अनुसार प्याकिङ गर्ने, मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको छनाेट, अभिमूखीकरण गर्ने र अन्य कर्मचारीको छनाेटलगायतका कामहरू अगाडि बढेका छन् ।’’
निर्वाचनका लागि अनिवार्य मानिने मतपेटिका, स्वस्तिक छाप र स्ट्याम्प प्याडदेखि मसलन्दका सरसमान, मतदान अधिकृतको डायरी, मुचुल्का फारम, मतदाता नामावली र नयाँ मतदाता परिचयपत्रको व्यवस्थापनमा कार्यालय जुटेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने लाहा छाप, सलाई, मैनबत्ती, सुतली धागो, स्टेसनरी सामग्री र मतदान केन्द्र व्यवस्थापनका लागि छेकाबार, डोरी लगायतका सामग्रीहरू प्याकिङ गरी तयारी अवस्थामा राख्न थालिएको छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२ हजार ५७८, मङ्गलामा १३ हजार ४४६, मालिकामा १३ हजार ३५५, रघुगङ्गामा १४ हजार १५८, अन्नपूर्णमा १२ हजार २९ र धवलागिरिमा १० हजार ८३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । तीमध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यतिखेर उम्मेदवार र राजनीतिक दलहरूले चुनावी कार्यक्रम लिएर मतदाताहरूको घरदैलोमा पुगेका छन् ।
जिल्लामा ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई सामान्य भनेर वर्गीकरण गरेको छ ।