• ११ फागुन २०८२, सोमबार

मुस्ताङमा बढ्यो चुनावी चहलपहल

blog

नेकपा (एमाले) मुस्ताङले थासाङ गाउँपालिबाट सुरू गरेको घरदैलो अभियान ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), फागुन ११ गते । मुस्ताङका बस्ती आसपासका डाँडा हिउँले छपक्कै ढाकिएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिक आइपुगेपछि उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । 

कठ्याङ्ग्रिँदो चिसोसँगै बेँसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवार समेत मतदाताको आगनमा पुग्न थालेपछि चहलपहल बढेको हो । माइनसबाट प्लसमा तापक्रम प्रवेश गरेसँगै सबैतिर चुनावी चर्चा सुरू भएको छ । 

तल्लो मुस्ताङमा हावाको सिरेटो र माथिल्लो क्षेत्रमा अझै बस्ती आसपासका क्षेत्रमा सेताम्मे हिउँ भए पनि गाउँमा रहेका मतदाता र बजारबाट उक्लिएकालाई खोज्दै टोल, बस्ती र घरदैलोमा उम्मेदवारसहित दलका कार्यकर्ता र उम्मेदवार पार्टीको झण्डा फहराउँदै गाडी लिएर पुगिरेहका छन् । 

नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङले उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका मतदातालाई भेटघाट गरी सदरमुकाम जोमसोम फर्किनुभएको छ । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट थासाङ र घरपझोङ गाउँपालिकाका मतदाता भेटघाटमा व्यस्त रहेको बेलामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली दिदीको उपचारमा लामो समय भारतमा बसेर काठमाडौँ र पोखराका मतदाता भेटघाटपछि अब गाउँमा फर्किने तयारीमा हुनुहुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले पहिलो चरणको भेटघाटपछि थप मतदाता भेट्न काठमाडौँबाट फर्किने तयारीमा रहनुभएको छ । जिल्लामा प्रतिस्पर्धामा रहेका आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन मतदातालाई आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपाका उम्मेदवार गुरूङ, उज्यालो पार्टीबाट डा. शेरचनले उपल्लो मुस्ताङमा पुगे पनि नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरूले पहिलो चरणमा तल्लो मुस्ताङमै मतदाता भेटघाटलाई प्राथमिकता दिएको बताउनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार विष्ट उपल्लो मुस्ताङवासी भएकाले अन्तिम समयमा उपल्लो मुस्ताङमा केन्द्रित हुने बताउनुभयो ।  

मुस्ताङमा ७० देखि ८० प्रतिशत मतदाता पार्टीप्रति प्रतिबद्ध, २५ देखि ३० प्रतिशतमा नयाँ, महिला र उम्मेदवार रहेको अनुमान छ । माथिल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३५ सय ५३ मतदाता र तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा ७ हजार ७ सय ७५ मतदाता छन् ।

जिल्लामा प्रतिस्पर्धामा रहेका उम्मेदवारको पहिलो प्राथमिकता कोरला नाकामा पूर्वाधार, बेनी–जोमसोम–कोरला सडकको सतप्रतिशत कालोपत्रे सडक, कृषि, पर्यटनलाई प्रमुख एजेन्डा बनाएका छन् ।