• ११ फागुन २०८२, सोमबार

कोतो–नार्पाभूमि सडक खुलेसँगै तात्यो चुनावी माहोल

blog

निर्वाचन अभियानमा राजनीतिक दलका कार्यकर्ता ।

यदुप्रसाद भट्ट

मनाङ, फागुन ११ गते । हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूले तीव्र रूपमा प्रसार–प्रचार सुरु गरेसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको हो ।

जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी कुल ७ हजार मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्य पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । 

नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङबिच प्रतिस्पर्धा देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी र मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवारले निर्वाचन आयोगको तालिका अनुसार प्रचारप्रसार अघि बढाइरहेका थिए । 

शनिबारदेखि नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले सहयात्री दल नेकपा (एमाले) र राप्रपासँग मिलेर नासोँ–१, ताल गाउँबाट अभियान सुरु गरेपछि तल्लो मनाङ क्षेत्रमा चुनावी रौनक बढेको छ ।

यसैबिच बेमौसमी हिमपातका कारण उत्तरीभेगका केही मतदान केन्द्रको अनुगमनमा कठिनाइ उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । 

विशेषगरी नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रमा पुग्न समस्या भएको थियो । तर सुखद खबर के छ भने अत्यधिक हिमपातका कारण अवरुद्ध कोतोदेखि नार्पाभूमिसम्मको बाटो आइतबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको १५ सदस्यीय संयुक्त टोलीले चार दिनसम्म निरन्तर हिउँ हटाएर सडक सञ्चालनमा ल्याएको हो ।

मनाङमा तैनाथ नयाँ भैरबी दल गुल्मका निमित्त प्रमुख क्याप्टेन सोनिक खत्रीका अनुसार सुरक्षाकर्मीको सक्रिय पहलले अब नार्पाभूमिका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण र अनुगमन सहज बन्ने छ ।

जाडो छल्न जिल्ला बाहिर गएका मतदाताहरू क्रमशः फर्किन थालेकाले चुनावी रौनक बढ्दैगएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका नौ वटै मतदान केन्द्रको अनुगमन सम्पन्न भइसकेको छ । चामे र नासोँ गाउँपालिकाका केन्द्रहरू यसअघि नै निरीक्षण गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब कोतो–नार्पाभूमि सडक सुचारु भएसँगै उत्तरी भेगमा पनि निर्वाचन तयारीले गति लिएको छ ।