• ११ फागुन २०८२, सोमबार

भारत र चीनको ताक्लाकोट गएका मतदाता नफर्कने चिन्ता

blog

चीनको ताक्लाकोटतर्फ काम गर्न जाने क्रममा हिल्सा नाका हुँदै गइरहेका हुम्लाका युवा। तस्बिर : राजन रावत

हुम्ला, फागुन ११ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतका विभिन्न सहर तथा चीनको ताक्लाकोटमा काम गर्न गएका मतदाता समयमै नफर्किने चिन्ता व्यक्त हुन थालेको छ। निर्वाचन आउन करिक एक हप्ता मात्र बाँकी रहँदासम्म दुवै देशमा रोजगारीका लागि गएका स्थानीय मतदाता नफर्किएपछि स्थानीयवासी र उम्मेदवारहरू चिन्तित बनेका छन्।

गत कात्तिक–मङ्सिर महिनामा भारतका विभिन्न सहरमा काम गर्न गएका हुम्लाका धेरै मतदाता हालसम्म नफर्किएको अदानचुली गाउँपालिका–४ का हिक्मत सिंहले बताउनुभयो। उहाँका अनुसार आफ्नो गाउँपालिकाका छ वटै वडाबाट गरी एक हजार ६ सयभन्दा बढी बेरोजगार युवायुवती भारतका विभिन्न सहरमा काम गर्न गएका छन्। हालसम्म उनीहरू नफर्किएकाले निर्वाचनमा मतदान गर्न नपाउने अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो।

भारतको नैनीताल र अल्मोडामा रहेका आफन्तसँग सम्पर्क गर्दा हिउँदभरि काम गरेको पारिश्रमिक साहुसँग नमिलेका कारण तत्काल फर्कन नसकिने जवाफ आएको र यसले झनै चिन्ता थपिएको उहाँले बताउनुभयो। अदानचुली गाउँपालिकामा चार हजार ८८९ मतदाता रहेका छन्।

यस्तै, ताँजाकोट गाउँपालिका–३ का जगतबहादुर शाहीले आफ्नो गाउँपालिकाबाट करिब दुई सय मतदाता भारतको गोरखपुर, लखनउ लगायतका सहरमा काम गर्न गएको तर हालसम्म नफर्किएको बताउनुभयो। रोजगारीकै कारण यसपटकको मतदानबाट उनीहरू वञ्चित हुने सम्भावना रहेको उहाँको भनाइ छ।

त्यस्तै, चङ्खेली गाउँपालिकाबाट पनि करिब दुई सय युवा भारतमा काम गर्न गएको र हालसम्म फिर्ता नभएको गाउँपालिका–४ की सीता शाहीले जानकारी दिनुभयो। गत मङ्सिर महिनामा भारत गएका उनीहरू पनि मतदानबाट वञ्चित हुने देखिएको उहाँले बताउनुभयो।

सामान्यतया भारतमा काम गर्न गएका कामदारहरू चैतदेखि वैशाखसम्म फर्कने गर्दछन्। तर, कामका लागि गएका मतदातालाई समयमै जिल्लामा फर्काउन कुनै पनि उम्मेदवारले पहल नगरेको स्थानीयको गुनासो छ।

रोजगारीका लागि भारत मात्र नभई उत्तरी छिमेकी चीनको ताक्लाकोटमा पनि सिमकोट र नाम्खा गाउँपालिकाका बेरोजगार युवा पुगेका छन्। नाम्खा गाउँपालिका–१ का प्रेमबहादुर लामाका अनुसार हाल ताक्लाकोटमा सिमकोट र नाम्खाबाट गरी दुई सयभन्दा बढी मतदाता रहेका छन्। ती सबै गत जेठ–असार महिनामा त्यहाँ गएका हुन् र निर्वाचनअघि फर्कने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो।

जिल्लाका सातमध्ये पाँच गाउँपालिकाबाट करिब दुई हजार दुई सय मतदाता भारत र चीनको ताक्लाकोटमा रोजगारीका लागि रहेका कारण मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ। हुम्लामा यसपटकको निर्वाचनका लागि कुल मतदाता संख्या ३४ हजार ३७२ रहेको छ। ठुलो सङ्ख्यामा मतदाता बाहिर रहनु राम्रो संकेत नभएको नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायाले बताउनुभयो।