• ९ फागुन २०८२, शनिबार

हराएको खुसी बाइकसँगै फर्किंदा...

blog

विभिन्न ठाउँबाट हराएर फेला परेका मोटरसाइकल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा हस्तान्तरण गरिँदै । फाइल तस्बिर

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ९ गते । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ (बग्गीखाना) पुग्ने सबैजसो सेवाग्राही प्रायः तनावमा देखिन्छन् । चालक अनुमतिपत्र (लाइसेन्स), सवारी धनीपुर्जा हराएका र विभिन्न कारणले ट्राफिक नियम उल्लङ्घन गरी जरिबाना बुझाउन पुग्नेहरू निरास देखिनु स्वाभाविकै हो । तर बिहीबार बग्गीखानाको दृश्य ठिक उल्टो देखियो । ५०/५२ जना युवकयुवतीको अनुहारमा झल्किएको खुसीले बग्गीखाना परिसरको दृश्यै फेरिएको थियो । अनायासै हराएका मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले फिर्ता गर्दा हराएको खुसी नै फर्कियो !

सिन्धुलीका श्रीजन गौतमको माघ २५ गते हराएको मोटरसाइकल ट्राफिक प्रहरीले बालुवाखानीमा फेला पारी फिर्ता गरिदिँदा गौतमको अनुहारमा खुसीको बेग्लै भाव देखिन्थ्यो । बाइक फेला पारेपछि खुसी व्यक्त गर्दै गौतमले भन्नुभयो, “बाइक हराएपछि भेटिँदैन भन्ने लागेर प्रहरीलाई इमेलमार्फत जानकारी गराएको थिएँ । तर एक हप्तामै फेला परेपछि साह्रै खुसी लाग्यो ।”

गौतम जस्तै पाँचथरका सन्दीप लिम्बू, मालीगाउँका ऋषव खतिवडा, सशस्त्र प्रहरीका जवान सञ्जय बस्नेतले पनि आशा मारेको मोटरसाइकल फिर्ता पाएपछि आफूलाई भाग्यमानी ठान्दै फेला पारिदिने ट्राफिक प्रहरीलाई पटक पटक धन्यवाद दिनुभयो । छोराछोरीले प्रयोग गर्ने स्कुटर हराउँदा साह्रै मन खिन्न भएको अनुभव सुनाउने अनिता शाहीले स्कुटर फेला परेपछि साह्रै खुसी लागेको बताउँदै भन्नुभयो, “हेर्दा एउटा स्कुटर मात्र जस्तो लाग्छ तर यो मेरो छोराछोरीको भावनासँग जोडिएको सवारीसाधन हो । मायै मारेको फेला पर्दा अति खुसी छु । फेला पारिदिने प्रहरीलाई धेरै धन्यवाद दिन चाहन्छु ।”

पछिल्लो समय काठमाडौँ उपत्यकामा दुईपाङ्ग्रे सवारीसाधन चोरी बढ्न थालेपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ । यसै क्रममा प्रहरीले शुक्रबार मोटरसाइकल चोरी गर्दै पार्टपुर्जा निकालेर बेचबिखन गर्ने तीन जना मोरङ कानेपोखरी–६ घर भई बुढानीलकण्ठ–७, हात्तीगाँैडा बस्ने लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगङ्गा–२ घर भई हात्तीगौँडामै बस्ने नरबहादुर चित्रे र करण खड्गीलाई पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले विभिन्न समयमा हराएका ५२ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई बुझाइएको बताउनुभयो । अधिकारीले दिनुभएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्रै एक हजार ५३१ थान दुईपाङ्ग्रे सवारीसाधन हराएको निवेदन दर्ता भएको र ३३९ थान स्कुटर, मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार हराएकामध्ये अझै ठुलो सङ्ख्यामा सवारीसाधन फेला पर्न सकेका छैनन् । प्रायः गरी एकान्त स्थानमा पार्किङ गरिएका मोटरसाइकल र स्कुटरको हेड खोली सिधै ‘स्टार्ट’ गरेर चोरी गर्ने र तिनै चोरी भएका सवारीसाधन प्रयोग गरेर अन्य चोरीमा संलग्न हुने गरेको पाइएको छ । 

शुक्रबार फेला पारिएका सवारीधनीलाई बुझाइएका मोटरसाइकल र स्कुटर पनि चोरीपछि नम्बर र केहीको रङसमेत परिवर्तन गरी पुनः अर्को चोरीमा प्रयोग गरिएको पाइएको छ । यसरी हराएका सवारीसाधन एक ठाउँबाट अर्को स्थानमा पु¥याउने, सवारीसाधनका पार्टपुर्जा खोलेर बिक्री गर्ने गरेको पनि पाइएको प्रहरी बताउँछ ।