नारद कोहार
तौलिहवा (कपिलवस्तु), फागुन ७ गते । आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान स्थलहरूको अनुगमन तथा निरीक्षण गरिएको छ ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतको संयुक्त टोलीले निर्वाचन क्षेत्र नं. ०१ अन्तर्गत वाणगङ्गा नगरपालिका का वडा नं. १, २, ७, ८ र ९ मा रहेका १५ वटा मतदान स्थलहरूको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षाको व्यवस्था, मतदान कक्ष व्यवस्थापन, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वाधारबारे जानकारी लिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै मतदानका दिन कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क रहेको बताउनुभयो । “मतदान स्थलहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले निर्वाचन अवधि भर सुरक्षा निगरानी कडा पारिएको बताउनुभयो । संवेदनशील र अति संवेदनशील मतदान स्थलहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग समन्वय भइरहेको बताउनुभयो ।