बैतडी समाचारदाता
बैतडी, फागुन ७ गते । खानेपानी योजनाका लागि भौँतारिइरहेको यहाँको एक वडाका बासिन्दाले पानी दिनेलाई मत दिने बताएका छन् । मेलौली नगरपालिका–९ का ४२५ घरपरिवार सुक्खायाममा काकाकुल बन्दै आएका छन् । गाउँनजिक रहेका पानीका मुहान सुकेपछि यहाँका स्थानीयले सुर्नया नदीबाट पानी लिफ्ट गर्नुपर्ने माग गर्दै आएका छन् ।
खानेपानी योजनाका लागि सङ्घ र प्रदेश सरकारलाई गएको पाँच वर्षदेखि लगातार गुनासो राख्दै आए पनि पानी खाने धोको पूरा नभएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । मेलौली नगरपालिका–९, विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काललगायत स्थानका स्थानीय एक गाग्री पानीका लागि पनि दिनभर पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आएको असुर रोकटा खानेपानीको मुहान सुकेर सुक्खायाममा पानीको हाहाकार भएको छ । विसं २०४४ देखि उपभोग गर्दै आइरहेको मर्छलेखोलातलको मुहान सुकेपछि एक गाग्री पानीका लागि दिनभरि दौडधुप गर्नुपर्ने बाध्यता रहेको पीडा उहाँले सुनाउनुभयो । गाउँमा भएका पानीका मुहान सुक्दै जान थालेपछि विकल्पमा मेलघट–केदारमाडौँ लिफ्ट खानेपानी योजनाको माग गरेको भट्टले बताउनुभयो ।