• ७ फागुन २०८२, बिहिबार

मतदान केन्द्र अनुगमन

blog

मतदान स्थल अनुगमन गर्दै सुरक्षा समितिका सदस्य ।तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता  

सल्यान, फागुन ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ४३ वटा मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन् । 

सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको हो । जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले संयुक्त रूपमा ती मतदान स्थलको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपत्कालीन व्यवस्थापनको अवस्थाबारे समीक्षा गरेका छन् । 

प्रतिनिधि सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवार विकास, रोजगारी, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण तथा आधारभूत सेवामा सुधारका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेका छन् । गाउँ बस्तीमा चुनावी बहस, छलफल, भेटघाट र प्रचारप्रसार कार्यक्रम तीव्र बनेका छन् । जिल्ला सुरक्षा समितिले मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ । संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष निगरानी, नियमित गस्ती, चेकजाँच तथा आवागमन व्यवस्थापनको योजना बनाइएको छ ।

वनगाड कुपिण्डे नगरपालिका–१२ का विमलराज डिसीले निर्वाचनप्रति मतदातामा उत्साह देखिएको बताउनुभयो । विगतका वर्षको तुलनामा यस पटक सुरक्षा व्यवस्थापन सुदृढ देखिएको उहाँको भनाइ छ । दार्मा गाउँपालिका–१ का लोकबहादुर ओलीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै पक्ष संयमित र जिम्मेवार हुनुपर्ने बताउनुभयो । सल्यानको भौगोलिक बनावट निर्वाचन व्यवस्थापनका लागि चुनौतीपूर्ण मानिएको छ । पहाडी तथा दुर्गम भूभाग, कच्ची सडक, कमजोर सञ्चार सञ्जाल र लामो पैदल दुरीका कारण कतिपय मतदान स्थलमा सामग्री ढुवानी तथा मतपेटिका सङ्कलन गर्न कठिन हुने देखिएको छ । 

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले संवेदनशीलताको स्तर अनुसार सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । अति संवेदनशील स्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा विशेष निगरानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

जिल्लाका ११७ मतदान स्थलमध्ये १७ वटा मात्र सामान्य श्रेणीमा परेका छन् भने बाँकी अधिकांश स्थल संवेदनशील र अति संवेदनशील सूचीमा छन् । त्यसैले सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीको परिचालन तयारी पूरा भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले सामान्य मतदान स्थलमा कम्तीमा तीन जना, संवेदनशील स्थलमा पाँच जना र अति संवेदनशील स्थलमा कम्तीमा सात जनासम्म सुरक्षाकर्मी परिचालन गरिने योजना बनाइएको जानकारी दिनुभयो । सुरक्षा निकायबिच समन्वयात्मक रूपमा परिचालन गरिने उहाँले बताउनुभयो । जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । तीमध्ये ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला मतदाता छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।