• ७ फागुन २०८२, बिहिबार

गुल्मी अस्पतालको निर्माण अन्तिम चरणमा

blog

निर्माणधिन गुल्मी अस्पताल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), फागुन ७ गते ।
गुल्मी अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको लामो समयपछि भवन निर्माणले गति लिँदै गएको हो ।  

विभिन्न समस्याहरु देखाउँदै आएका निर्माण व्यवसायीले दसैँसम्म काम सक्ने बताउँदै आएका पनि व्यवसायीको ढिलासुस्तीका कारणले निर्माणले गति लिन सकेको थिएन् ।  २०७८ असार १८ गते सम्झौता भइ काम सुरु भएको गुल्मी अस्पताल भवनको २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानिया जे.भी हेटौँडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो । निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीका अनुसार हालसम्म भवन निर्माणको भौतिक प्रगति ९२ प्रतिशतभन्दा केही बढी सम्पन्न भएको छ ।

भवनको अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् । पछिल्लो समयमा देशमा उत्पन्न जेन्जी आन्दोलन लगायतका कारण पनि कामले गति लिन नसक्नु र दसैँ तिहार र छटजस्ता पर्वले कामदार घर जाने हुँदा पनि काममा सुस्तता आएको उहाँको भनाइ छ । चैत अन्तिम हप्तासम्म भवन हस्तान्तरण गर्ने गरी आफूहरु लागेको उहाँको दाबी छ ।

गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीहुँदा पनि यहाँका सरोकारवाला निकाय मौन रहनु जिल्लाका लागि सुखद पक्ष नभएको सेवाग्राहीले बताउँदै आएका छन् । भवनलाई जतिसक्यो छिटो सम्पन्न गर्न नियमित खबदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद  पाण्डेले बताउनुभयो ।

गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई सरोकारवाहरुले आग्रह गर्दै आएको बताए पनि परिणम भने देखिन सकेको छैन ।

गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० वेडमा स्तरवृद्धि भएको थियो, तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यन्वयनमा आउन सकेको छैन ।  भौतिक संरचनाको अभावका कारण सानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भएको गुल्मी अस्पतालले जनाएको छ ।