• ७ फागुन २०८२, बिहिबार

दुई अस्थायी मतदान केन्द्र, २३ सय अस्थायी मतदाता कायम

blog

जिल्ला निर्वाचन कार्यलय धनकुटा । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), माघ ७ गते ।
प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्ला कारागार र गोकुण्डेश्वर मावि धनकुटा–६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्ला कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको छ भने गोकृण्डेश्वर मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख माधव अधिकारीले जानकारी दिनुभयो ।

धनकुटा जिल्लामा दुई हजार तीन सय आठ जना अस्थायी मतदाताको तथ्याङ्क सार्वजनिक भएको छ । कारागारमा जम्मा ७६ जना कैदीबन्दी साथै कर्मचारी र सुरक्षाकर्मीहरु जम्मा दुई हजार दुई सय ३२ जना अस्थायी मतदाता रहेका छन् । उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत भइसकेको अधिकारीले जानकारी बताउनुभयो । उहाँका अनुसार निर्वाचनमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शत प्रतिशत हुने तर गोकुण्डेश्वर माविमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुन सक्ने बताउनुभयो ।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सहित गरेर दुई हजार दुई सय ३२ जनाको नामावली रहेको उहाँले भन्नुभयो । निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्षतर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।