• ७ फागुन २०८२, बिहिबार

निर्वाचनकेन्द्रित आमसभा गर्दै दल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ७ गते । सबै राजनीतिक दलका उम्मेदवार फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न सघन रूपमा जुटेका छन् । निर्वाचन आयोगले गत सोमबारदेखि फागुन १८ गते मध्यराति १२ बजेसम्म दलका उम्मेदवारले प्रचारप्रसार गर्न पाउने समयसीमा निर्धारण गरेको छ । मतदान हुन जम्मा १४ दिन मात्रै भएपछि दलहरू निर्वाचनकेन्द्रित आमसभा गर्ने तयारीमा जुटेका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरबाट पार्टीको चुनावी प्रतिबद्धता आमसभाबाटै सार्वजनिक भएको जानकारी दिनुभयो । कांग्रेसले बिहीबार ५६ पेजको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने उहाँले बताउनुभयो । “हामीले चुनावकेन्द्रित सानाठुला आमसभा गरिरहेका छौँ । बुधबार मात्रै जनकपुरमा कार्यक्रम भयो,” उहाँले भन्नुभयो, “हामीले देशका विभिन्न प्रमुख सहरमा पनि ठुला कार्यक्रम र आमसभा गर्ने तयारी गरेका छौँ । ती सहरमा गरिने आमसभाको कार्यतालिका केही दिनभित्रै सार्वजनिक गर्ने छौँ ।” निर्वाचनको मतदान गर्ने समय नजिकिँदै आएकाले धेरै ठाउँमा आमसभा नहुने उहाँले प्रस्ट पार्नुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टीले कुन कुन सहर र जिल्लामा आमसभा गर्ने भन्नेबारे बिहीबार सार्वजनिक गर्ने जानकारी दिनुभयो । पार्टीको नीतिबमोजिम आमसभाको कार्यतालिकाबमोजिम नेताले सम्बोधन गर्ने उहाँले बताउनुभयो । यो पटकको निर्वाचनमा धेरै उम्मेदवारले आमसभा, ¥यालीभन्दा बढी घरदैलो, भेटघाट, अन्तर्क्रिया र सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई आक्रामक बनाउँदै लगेका छन् । आमसभा गर्दा धेरै खर्च हुने भएपछि प्रायः उम्मेदवारले घरदैलो र भेटघाटलाई प्राथमिकता दिएको नेताले बताएका छन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समेत आमसभा, भेला र ¥याली गर्नेभन्दा घरदैलो, भेटघाट, जनसंवादलाई बढी प्राथमिकता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । “हामीले चुनावी माहोल बनाउन र चुनावी सभाका रूपमा देशका प्रमुख सहरमा यसअघि आमसभा गरिसकेका छौँ । आफ्ना कुरा जनतालाई भनिसकेका छौँ । आवश्यकता अनुसार फेरि आमसभा गर्ने कुरा भयो,” उहाँले भन्नुभयो, “तत्काल पार्टीका उम्मेदवार मतदातासँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने, गुनासा सुन्ने काम भएका छन् । यसले मतदातालाई नजिक बनाउने र प्रभावकारी भएको छ ।” 

यो निर्वाचनमा पार्टीले सामाजिक सञ्जाल र डिजिटल माध्यमको भरपूर सदुपयोग गर्ने नीति लिएको उहाँले बताउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न सहरमा निर्वाचनकेन्द्रित आमसभा जारी राखेको छ । जनकपुरपछि बुधबार रास्वपाले धनगढीमा आमसभा राखेको थियो भने बिहीबार सुर्खेतमा आमसभा राखेर घोषणापत्र सार्वजनिक गर्ने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । पार्टीको निर्णय र घोषणापत्र जनतामा लग्न आमसभा भेटघाट, घरदैलो सबै हुने उहाँले बताउनुभयो ।