• ६ फागुन २०८२, बुधबार

गहुँ खेती प्रविधिबारे कृषक तालिम

blog

तालिममा सहभागी कृषकहरु ।

गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन ६ गते । नेपालको प्रमुख खाद्यन्न बाली गहुँको उत्पादकत्व बृद्धि गर्ने लक्ष्यसहित उन्नत गहुँ खेती प्रविधि बारेमा कृषकलक्षित तालिम सुरु गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय गहुँ बाँली अनुसन्धान कार्यक्रम रुपन्देहीले बुधबारदेखि एक हप्ते तालिम सुरु गरेको हो ।

राष्ट्रिय खाद्य सुरक्षासँग प्रत्यक्ष रुपमा जोडिएको गहुँ बाली खेतीमा गुणस्तरीय बीउको प्रयोग, सन्तुलित मल व्यवस्थापन, समयमै रोग–कीरा नियन्त्रण तथा उन्नत खेती प्रविधिबारे तालिममा सहभागीलाई जानकारी दिइने छ। राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रोशन बस्नेत र कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस प्रमुख जन्मजय गैरेले संयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभयो ।  

कार्यक्रममा क्याम्पस प्रमुख गैरेले कृषि क्षेत्रमा वैज्ञानिक अनुसन्धान र कृषकबिचको सहकार्य अझै सुदृढ बनाउन यस्ता तालिमहरुले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषकले सिकेका प्रविधि आफ्ना समुदायमा विस्तार गरेमा समग्र कृषि उत्पादन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रोशन वस्नेतका अनुसार, तालिम अवधिमा राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यव्रmमले विकास गरेको जलवायु अनुकुलन र बढी उत्पादन दिने जातहरुबारे जानकारी, बाली तथा सिँचाइ व्यवस्थापन, माटो परीक्षण तथा सन्तुलित मल प्रयोग, रोग तथा कीरा व्यवस्थापन विषयमा जानकारी दिइनेछ। 

उहाँले यान्त्रिकीकरण जलवायु परिवर्तन अनुकूल प्रविधि, गहुँ कटानपछिको व्यवस्थापन सम्बन्धी सैद्धान्तिक ज्ञान तालिम अवधिमा दिइने बताउनुभयो ।

तालिमका संयोजक वैज्ञानिक नारायण खत्रीले तालिमबाट कृषकहरूको सीप तथा ज्ञान अभिवृद्धि भई स्थानीय स्तरमा उन्नत गहुँ खेती प्रविधि विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।  तालिममा २५ जिल्लाबाट सहभागिता रहेको छ ।