• ६ फागुन २०८२, बुधबार

बदर मतको संख्या घटाउन मतदाता शिक्षा

blog

वडास्तरमा मतदाता शिक्षाका लागि तालिमप्राप्त स्वयमसेवकहरु। तस्बिरः शंकर केसी

शंकर केसी

शारदा (सल्यान), फागुन ६ गते। सल्यानमा गत प्रतिनिधिसभा निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले कार्यक्रम अघि बढाएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्येक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो । खसेको मतमध्ये ७६ हजार ३२८ मत सदर हुँदा सात हजार ३७६ मत बदर भएको थियो।

विगतमा कुल खसेको मतको ८.८१ प्रतिशत मत बदर भएकाले यो अवस्थालार्इ घटाउन वडामा मतदाता शिक्षा कार्यक्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । गाउँ–गाउँमा मतदाता शिक्षा अभियानमा मत हाल्ने तरिका, मतपत्रमा चिन्ह लगाउने विधि र सामान्य गल्तीबारे सचेतना फैलाइँदैआएको छ । 

जिल्लामा वास्तविक मतपत्रजस्तै नमुना मतपत्र प्रयोग गरी अभ्यास गराउने कार्यक्रम पनि तय भएको उहाँले जानकारी दिनुभयो। गत निर्वाचनमा समानुपातिक तर्फ ८४ हजार ७८९ मत खसेकोमा ७८ हजार ५७४ मत सदर भएको थियो । छ हजार २१५ अर्थात ७.३३ प्रतिशत मत बदर भएको कार्यालयले जनाएको छ। यस्तै प्रदेशसभा निर्वाचन २०७९ मा प्रदेशसभा (क) को प्रत्येक्षमा ५.७० र प्रदेशसभा (ख) को प्रत्येक्षमा ४.७४ प्रतिशत मद बदर भएको थियो । 

प्रदेशसभाको समानुपातिकमा पनि ७.५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ। सल्यानमा कुल मतदाता एक लाख ६२ हजार ४४९ जना रहेका छन् । जसमध्ये महिला मतादाता ७९ हजार १२८ र पुरुष मतदाता ८३ हजार ३२१ जना रहेका छन्।