काठमाडौं, फागुन ६ गते । नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले मात्र मुलुकलाई संकटमुक्त गराउन सक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा दोलखाका युवाहरुको भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।
नेता गुरुङले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने चर्चा गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जनतालाई दिग्भ्रमित गराएर मुलुकलाई अघि बढाउन नसकिने बताउनुभयो । नेता गुरुङले आसन्न निर्वाचनमा आफूले राष्ट्रलाई समृद्ध बनाउने र दोलखामा आर्थिक क्रान्ति ल्याउने विषयलाई मुख्य एजेण्डा बनाएको बताउनुभयो।
उहाँले भन्नुभयो, “एमालेले देशलाई संकटबाट बचाउने छ। समृद्ध नेपालः सुखी नेपाली बनाउने अभियानलाई यस चुनावले सहयोग गर्नेछ। जनतालाई दिग्भ्रमित गरेर देश बन्दैन ।” देश बनाउने र युवाहरुको भविष्य सुनिश्चित गर्ने काम एमालेले मात्र गर्न सक्ने उहाँको दावी छ ।
मुलुक बनाउन र युवाहरुको सपना पूरा गर्नका लागि जस्तोसुकै बलिदान गर्न आफू तयार रहेको उहाँले चर्चा गर्नुभयो । सो अवसरमा नेता गुरुङले युवाहरुको सपनालाई साकार पार्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।