• ६ फागुन २०८२, बुधबार

उम्मेदवारलाई कुटपिट गर्ने पक्राउ

blog

बिकास अधिकारी

पश्चिम नवलपरासी, फागुन ६ गते । पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार र कार्यकर्तामाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार नवलपरासी निर्वाचन क्षेत्र १ को बर्दघाट नगरपालिका –१२ जमुनिया चोकमा चुनाव प्रचार–प्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बताउने एक समूहले सो पार्टीका उम्मेदवार राजु हरिजन र केही कार्यकर्तालाई कुटपिट गरेका थिए । 

कुटपिटमा संलग्न तीन जनामध्ये बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कुटपिटमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको छ । चुनावको प्रचार प्रसार गरिरहेको समयमा यो घण्टीको क्षेत्र हो भन्दै हरिजनसहित माओवादीका कार्यकर्तामाथि कुटपिट र दुव्र्यवहार गरिएको थियो । 

उम्मेदवार हरिजनले आफूहरू रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जना युवाहरूको समुहले आक्रमण गरेको बताउनुभयो । पक्राउ परेका एक जना समेत रास्वपाबाटै परिचालित व्यक्ति भएको हरिजनको आरोप छ । हरिजनसहित पार्टीका स्थानीय नेताहरु गणेश श्रीस, निरज पाठक, नकुल सी लगायतका नेता कार्यकर्तामाथि कुटपिट भएको थियो । आफूहरू असुरक्षित भएको भन्दै हरिजनले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो । सुनियोजित रुपमा आफूहरुमाथि आक्रमण भएको भन्दै सो पार्टीले सुरक्षाको माग गरेको छ । 

प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लामा उम्मेदवारको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जानकारी दिदैँ चुनावी कार्यक्रम गर्दा पूर्व जानकारी दिन आग्रह गर्नुभयो । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय प्रतिवद्ध रहेको बताउँदै उम्मेदवारको सुरक्षा व्यवस्था प्रभावकारी रुपमा मिलाइएको श्रेष्ठको भनाइ छ । चुनावी कार्यक्रम गर्दा अघिल्लो दिन जानकारी गराउन स्थानीय प्रशासनले सूचना जारी गरेर उम्मेदवार तथा राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।