राजन रावत
हुम्ला, फागुन ६ गते । जिल्लाको सातवटै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमजस्ता रोगको बिरामी बढेका छन् । माघ १० गते परेको हिमपातले चिसो बढेपछि यस्ता बिरामीहरु दैनिक रुपमा बढिरहेका हुन् ।
सर्केगार्ड गाउँपालिकाभर रुघाखोकी, ज्वरो र टाउको दुख्ने बिरामी बढी रहेको सो गाउँका स्थानीय प्रकाश ऐडीले बताउनुभयो । ती गाउँबस्तीमा प्रत्येक घरमा रुघाखोकी र ज्वरोका बिरामी भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी सोही वडाको फुचा गाउँमा पनि यस्ता बिरामी रहेको उहाँँले जानकारी दिनुभयो ।
एउटै गाउँमा ६७ जना रुघखोकी, ज्वरो आउने र टाउको दुख्ने बिरामी परेपछि आधारभूत स्वास्थ्य सेवा केन्द्रले राहादेबले शिबिर सञ्चालन गरेर बिरामीको उपचार गर्नुपरेको सो केन्द्रका संयोजक सूर्यबहादुर ऐडीले बताउनुभयो । रुघाखोकी, ज्वरो र टाउको दुख्ने बिरामी बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको उहाँले बताउनुभयो ।
सर्केगार्ड गाउँपालकाका अन्य वडामा पनि यस्ता बिरामी बढिरहेको गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ । यता ताँजाकोट गाउँपालिकाका पाँचवटै वडाका बस्तीमा पनि रुघाखोकी, ज्वरो र टाउको दुख्ने मौसमी फ्लुका बिरामी बढिरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो ।
त्यसैगरी अदानचुली, चङ्खेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा बिरामी केही दिनयता बढिरहेको र स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको घुइँचो लाग्ने गरेको ती गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । यता, जिल्ला अस्पतालम पनि रुघाखोकी र ज्व्।रोका बिरामीहरु बढिरहेको अस्पतालमा चाप बढेको अस्पतालका चिकीत्सक भिम बुढाले बताउनुभयो ।
पहिलेभन्दा पन्ध्र प्रतिशतले यस्ता बिरामी बढेको र त्योसँगै दमका बिरामी पनि बढी रहेको उहाँले बताउनुभयो । चिसो बढेको कारण मौसमी फ्लुका रोगहरु बढ्ने भएको कारण जिल्लावासीलाई सुरक्षित रहन अस्पतालले आग्रह गरेको छ ।