विष्णुप्रसाद पोखरेल
दमक, फागुन ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ ।
आवत–जावतमा सहज पहुँचका लागि राम्रो सडकको अपरिहार्यता रहेको जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो । बुधबार बिहान झापाको दमकमा सिटी सफारी तथा अटो चालकहरूसँग छलफल गर्दै ओलीले दमकमा अधिकांश मुख्य सडकहरू कालोपत्रे भइसकेको उल्लेख गर्दै जसका कारण आज ५ हजारभन्दा बढी सिटी तथा अटोहरू कुदिरहेको जनाउनुभयो ।
‘सडक राम्रो भएपछि रोजगारी सिर्जना हुन्छ, आर्थिक गतिविधि बढ्छ’ अध्यक्ष ओलीले भन्नुभयो, “यहाँ विकासको कुरा गर्नु हुँदैन भनेर प्रचार चलाइएको छ, म विकास गर्नकै लागि निर्वाचनमा उठेको छु, भ्रममा नपर्नु होला ।” यहाँका अधुरा र निर्माणाधीन सडकहरू छिटो सम्पन्न गर्नु हाम्रो प्राथमिकता हो, उहाँले भन्नुभयो ।
श्रमिकहरूको पीडा तथा समस्या आफूले बुझेको ओलीले बताउनुभयो । परिश्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकको पक्षमा हामी सधैं उभिन्छौं, ओलीले भन्नुभयो । ग्रामीण भेगसम्म सडक सञ्जाल पुर्याएर स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति एमालेले अघि सारेको र यसलाई सहयोग ओलीले आग्रह गर्नुभयो ।
उहाँले मुलुकलाई गरिबीबाट मुक्त गर्ने लक्ष्यका साथ आफूले विभिन्न कार्यक्रम अघि बढाएको स्मरण गर्नुभयो । “भोकमारी मुक्त नेपाल” कार्यक्रम आफ्नो पहलमा सुरु गरिएको उल्लेख गर्दै उहाँले उत्पादन वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने अठोटका साथ आफू अघि बढेको जनाउनुभयो ।
ओली झापा क्षेत्र नं. ५ मा चुनावी प्रचारप्रसार तथा धरदैलो कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । ओलीको सचिवालयका अनुसार ३ दिन लगातर भेटघाटमा बितेको छ । अब केही दिन काठमाडौँमा रहेर पुनः निर्वाचन क्षेत्रमा आउने कार्यक्रम रहेको छ ।
झापाको क्षेत्र नं. ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह, नेपाली कांग्रेसकी मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मि संग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङलगायतका उम्मेदवारहरू चुनावी अभियानमा रहनुभएको छ ।