गुणबहादुर रोका
सुलीकोट, फागुन ६ गते । गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका लेखनाथ न्यौपाने अन्ततः पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिनुभएको छ । ३६ वर्षे राजनीतिक यात्रापछि उहाँ प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिनुभएको हो । विद्यार्थी जीवनदेखि वैचारिक सङ्घर्षमा अभ्यस्त न्यौपानेका लागि यो अवसर केवल उम्मेदवारी मात्र होइन, दीर्घ राजनीतिक प्रतिबद्धताको सार्वजनिक मूल्याङ्कन पनि हो ।
वि.सं. २०३० चैत २८ गते गोरखाको सिरानचोक–३, हर्मीमा जन्मनुभएका न्यौपानेले पालुङटारस्थित आँप पीपलको जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गर्नुभएको हो । कक्षा ९ देखि नै विद्यार्थी राजनीतिमा संलग्न उहाँले क्याम्पस जीवनसँगै आफ्नो वैचारिक सक्रियतालाई थप परिपक्व बनाउँदै अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध हुनुभयो । उहाँले महेन्द्ररत्न क्याम्पस ताहाचलको एकाइ अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।
न्यौपानेको राजनीतिक औपचारिकता वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यताबाट सुरु भएको थियो । त्यसपछि नेकपा (माओवादी)का विभिन्न तह र जिम्मेवारीमा रहँदै उहाँले ललितपुर र मकवानपुर जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नुभयो । पार्टी एकीकरणपछिको नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपाको केन्द्रीय सदस्यका रूपमा समेत उहाँले योगदान दिँदै आउनुभएको छ ।
राजनीतिक सङ्घर्षका क्रममा उहाँले २०५४ देखि २०५८ सालसम्म विभिन्न मुद्दा खेप्दै चार वर्ष जेल जीवन बिताउनुभयो । रिहाइपछि पनि उहाँको 'टाउकोको मूल्य' तोकिएको समयले जीवनलाई थप जोखिमपूर्ण बनाएको थियो, यद्यपि उहाँले आफ्नो वैचारिक अडान त्याग्नुभएन । ५२ वर्षीय न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । उहाँ बौद्धिक र आलोचनात्मक चेत भएका नेताका रूपमा चिनिनुहुन्छ ।
हाल चुनावी प्रचारमा व्यस्त उहाँ मतदातालाई स्वतन्त्र र सचेत मतदानका लागि प्रेरित गर्ने अभियानमा लाग्नुभएको छ । पैसाको प्रलोभन र झुटा आश्वासनको राजनीतिविरुद्ध स्पष्ट आवाज उठाउँदै आउनुभएका न्यौपाने संसद् पुगेपछि दलगत ह्विपको सीमाबारे बहस चलाउने बताउनुहुन्छ । राष्ट्रियता, परराष्ट्र नीति र जनजीविकासँग सम्बन्धित विषयमा स्वतन्त्र चिन्तनको पक्षमा उभिने उहाँको प्रतिबद्धता छ ।
यस पटकको निर्वाचन न्यौपानेका लागि केवल प्रतिस्पर्धा मात्र नभएर विचार र निष्ठाको परीक्षा बनेको छ । गोरखाली मतदाताले उहाँको दीर्घ सङ्घर्षलाई कस्तो जनादेश दिन्छन्, त्यो भने आगामी फागुन २१ गतेको नतिजाले तय गर्ने छ ।