नवीनराज कुइँकेल
लमजुङ, फागुन ६ गते । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेद्वारहरू घरदैलोमार्फत मतदाता फकाउन व्यस्त रहनुभएको छ । उम्मेदवारी दर्तापछि गाउँ पसेका उम्मेदवारहरु मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन् ।
गाउँमा आएका उम्मेदवारसँग मतदाताले विकास निर्माण, रोजगारी र सुशासनका गुनासा खुलस्त राख्नेगरेका छन् । गाउँकेन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारले जनताका गुनासा सुन्ने र आफ्ना प्रतिबद्धताहरू सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताहरूको विगतलाई अब नदोहो¥याउन आग्रह गरिरहेका भेटिन्छन् ।
नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले आफू बाध्यता र आवश्यकताले पटक पटक उम्मेदवार बन्नुपरेको मतदातालाई बुझाउँदै आउनुभएको छ । मुख्यमन्त्री र संघीय सरकारको दुई पटक मन्त्री हुँदा गरेका कामहरुको फेहरिस्त सुनाउँदै फेरि पनि जिल्लाको समग्र विकास र सूचना प्रविधिको हब बनाउने योजना लिएर मतदाताकोमा गएको बताउनुभयो ।
नेपाली काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले विकास निर्माणको साथै आधुनिक कृषि, समाजवादउन्मुख ब्यबस्थाका लागि आफ्नो उम्मेदवारी रहेको मतदातालाई सुनाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले देशमा भ्रष्टाचारको अन्त्य, सुशासन, जिल्लाको शिक्षा, स्वास्थ्य आदिको सुधारका लागि आफ्नो उम्मेदवारी रहेको मतदतालाई सुनाउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिजंग तामाङले जेनजी आन्दोलनको भावना बमोजिम काम गर्न उम्मेदवारी दिएकाले मतका लागि मतदातालाई फकाइरहनुभएको छ । उहाँहरुसँगै अन्य उम्मेदवारहरु पनि गाउँ गाउँमा पुगेर मतदाताको मन जित्ने प्रयास गर्नुभएको छ ।
तीन वर्षअघि सम्पन्न २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) समानुपातिकतर्फ ३१ हजार १७८ मत प्राप्त गर्दै जिल्लाको पहिलो पार्टी बनेको थियो । त्यतिबेला एमाले उम्मेद्वार गुरुङले पार्टीले पाएको मतभन्दा ३ हजार ७ सय ८१ बढी लोकप्रिय मत प्राप्त गर्दै पाँचदलीय गठबन्धनका साझा उम्मेद्वारलाई पराजित गर्नुभएको थियो ।
यसपटक गुरुङसँग मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी रहनुभएको छ । कांग्रेसका गुरुङ पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । रास्वपाका केसी दोस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ को निर्वाचनमा केसीले ९ हजार २९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
अघिल्लो निर्वाचनमा कांग्रेससहित पाँच दलीय गठबन्धनबाट उम्मेद्वार बन्नुभएका तत्कालीन माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत पाउनुभएको थियो । अहिले नेपाली कम्युनिष्ट पार्टीबाट हरिजंग तामाङको उम्मेद्वारी रहेको छ । २०७९ को समानुपातिक मत परिणामअनुसार कांग्रेसले २७ हजार ७ सय ९६, रास्वपाले ८ हजार २ सय १७, माओवादी केन्द्रले ६ हजार ४ सय ८३ र राप्रपाले २ हजार ३ सय ८ मत प्राप्त गरेका थिए ।
तीन प्रमुख प्रतिस्पर्धीले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । एमाले पक्षले अघिल्लो पटक गठबन्धन पराजित गरेको अनुभव देखाउँदै यसपटक एक्लाएक्लै प्रतिस्पर्धा हुँदा जित सहज हुने तर्क अघि सारेको छ । कांग्रेसले आफ्ना उम्मेद्वार विवादरहित र शालीन रहेको दाबी गर्दै संगठन सुदृढ भएकाले परिणाम आफ्नो पक्षमा आउने बताएको छ ।
रास्वपाले भने मतदातामा परिवर्तनको चाहना बढेकाले नयाँ शक्तिका रूपमा आफूहरूको जित निश्चित रहेको दाबी गरेको छ ।
लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे रहनुभएको छ ।
जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका छन् । यसमध्ये ६९ हजार ५२४ महिला र ६७ हजार ६०० पुरुष छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को तुलनामा यसपटक मतदाता संख्या ३ हजार ४०७ ले बढेको छ । अघिल्लो निर्वाचनमा १ लाख ३३ हजार ७१७ मतदाता रहेका थिए ।