राजु लामिछाने
रुकुमपश्चिम, फागुन ६ गते । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले भरपर्दो सुरक्षा व्यवस्थाका लागि रुकुमपश्चिमस्थित प्रहरीलाई निर्देशन दिनुभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निरीक्षण तथा अनुगमनका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट रुकुमपश्चिम आउनुभएका एआईजी राठौरले जिल्ला प्रहरी कार्यालयमा उक्त निर्देशन दिनुभएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका विभागीय प्रमुखसमेत रहनुभएका एआईजी राठौरले निर्वाचनमा प्रहरी जनशक्ति परिचालन, शान्ति सुरक्षा व्यवस्थापन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रहरीको भूमिकाबारे निर्देश गर्नुभयो । निर्देशनका क्रममा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रहरी कर्मचारी र म्यादी प्रहरी (निर्वाचन प्रहरी) लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीको व्यावसायिक छविमा कुनै पनि आँच नआउने गरी उत्कृष्ट कार्य गर्न निर्देशन दिनुभयो ।
रुकुमपश्चिमको निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा उम्मेदवारबिच आपसी समन्वयलाई निरन्तरता दिँदै निर्वाचनसम्बन्धी कानुनको कार्यान्वयनमा प्रहरीको भूमिका अब्बल हुनुपर्ने उहाँको भनाइ थियो । निर्वाचनमा उच्छृङ्खलता देखाउने र वातावरण बिगार्न खोज्ने जुनसुकै व्यक्ति तथा तत्वलाई कानुनी कारबाहीको दायरामा ल्याउनसमेत उहाँले निर्देशन दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले प्रहरी प्रधान कार्यालयको निर्देशन तथा केन्द्रीय सुरक्षा योजनाअनुसार जिल्लाभर प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । जिल्लामा रहेको जनशक्तिबाहेक थप प्रहरीसमेत परिचालन हुने उहाँले बताउनुभयो । यसका साथै जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम जिल्लाका विभिन्न तीन स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको निर्वाचन सुरक्षा बेससमेत स्थापना गरिएको डिएसपी पौडेलले जानकारी दिनुभयो ।