• ५ फागुन २०८२, मङ्गलबार

प्रतिनिधिसभा निर्वाचन : सल्यानमा सेना–प्रहरीको संयुक्त गस्ती

blog

सेना–प्रहरीको संयुक्त सुरक्षा गस्ती सञ्चालन गर्दै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ५ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सल्यानमा नेपाली सेना–नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले समन्वयात्मक रूपमा जिल्लाभर संयुक्त सुरक्षा निगरानी थालेका हुन् । यसअघि माघ २१ गतेदेखि नेपाली सेनाले जिल्लाका १० वटै स्थानीय तहमा एकल रूपमा सुरक्षा गस्ती सञ्चालन गर्दै आएको थियो । आइतबारदेखि भने तीनै सुरक्षा निकायको संयुक्त टोलीले संवेदनशील क्षेत्रमा नियमित गस्ती सुरु गरेको जनाएको छ ।

नेपाली सेना श्री सिद्धिबक्स गण सिमखर्क ब्यारेकका प्रमुख सेनानी शिवनारायण श्रेष्ठका अनुसार निर्वाचन लक्षित सुरक्षा योजनाअनुसार अति संवेदनशील तथा संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा प्रबन्ध कडा पारिएको छ । मतदान सम्पन्न नहुँदासम्म मतदान केन्द्रको बाहिरी तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने गरी आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बम डिस्पोजल टोलीसमेत तयारी अवस्थामा राखिएको बताइएको छ ।

मतदानका क्रममा मतपेटिका सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने तथा मतदान सम्पन्न भएपछि सदरमुकामसम्म सुरक्षित ल्याउने व्यवस्थासमेत मिलाइएको सेनाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले निर्वाचन सुरक्षासम्बन्धी आवश्यक तयारी पूरा भएको बताउनुभयो । केही दिनभित्रै आवश्यक सङ्ख्या अनुसार प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने जानकारी उहाँले दिनुभयो ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म सल्यानका प्रहरी नायब उपरीक्षक भरतबहादुर कुँवरका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रमा संयुक्त गस्ती परिचालन गरिएको छ । सम्पूर्ण निर्वाचन क्षेत्रलाई समेट्ने गरी बागचौर नगरपालिका–२ खरिबोटमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठको कमाण्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गरिएको उहाँले बताउनुभयो ।

यस क्रममा बागचौर नगरपालिकामा सिद्धिबक्स गणबाट खटिएको कम्पनी अपरेटिङ बेस थारमारेका कमाण्डर सेनानी महेश अधिकारीको नेतृत्वमा, सशस्त्र प्रहरी निर्वाचन सुरक्षा बेस खरिबोटका कमाण्डर डीएसपी सुन्दर श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको नेपाल प्रहरीको टोलीले संयुक्त गस्ती सञ्चालन गरेको थियो ।

जिल्लाका बजार क्षेत्रदेखि ग्रामीण भेगसम्म संयुक्त गस्ती परिचालन भएपछि निर्वाचनको माहोल क्रमशः सक्रिय बन्दै गएको स्थानीयवासीले बताएका छन् । प्रशासनले नागरिकलाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।