राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) फागुन ५ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललाई समर्थन गर्नुभएको छ । आफूले उठाउँदै आएका अजेण्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गर्नुभएको हो ।
स्याङ्जा क्षेत्र नं. १ बाट दर्जीले स्वतन्त्र र ढकालले नेपाली कांग्रेसबाट उमेदवारी दिनुभएको हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार परियारले कांग्रेसका उम्मेदवार ढकाललाई समर्थन गर्नु भएको हो
ढकाललाई समर्थन गर्दै परियारले भन्नुभयो, “लामो समयदेखि आफूले धनी र गरिबको दूरी कम गर्दै गरिबी हटाउने अभियान चलाएको थिए, गरिबी हटाउने र रोजगारी सृजना गर्ने अभियानलाई प्रभावकारी बनाउन ढकालले सक्षम हुनुहुन्छ, त्यसैले मैले समर्थन गरे ।” उत्पादन मुलक, आर्थिक उर्पाजन र रोजगारी सृजना गर्ने अभियानमा ढकाल लागिरहेकाले उहाँलाई निर्वाचित गराउनु उहाँको आग्रह छ ।
कार्यक्रममा बोल्दै उम्मेदवार ढकालले बदलिएको कांग्रेसको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ ।” नेपालीको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याएर कांग्रेसले रोजगारी सृजना गर्दै आत्मनिर्भर समाज बनाउने उहाँको दाबी छ ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष भरतराज ढकाललाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो ।