• ५ फागुन २०८२, मङ्गलबार

नेपाल–भारत विद्युत् व्यापार

नेपाली उद्योगका उत्पादन प्रयोगमा भारतको स्वीकृति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया (पिजिसिआइएल) ले नेपालको तार, केबुल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग लिटमस इन्डस्ट्रिज लिमिटेडका उत्पादनलाई स्वीकृति दिएको छ । पिजिसिआइएल भारतको अन्तरराज्य तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने केन्द्रीय विद्युत् प्रसारण निकाय कम्पनी हो । यस स्वीकृतिसँगै लिटमस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एक मात्र नेपाली उत्पादक बनेको उक्त कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता अनुसार लिटमस इन्डस्ट्रिजले चार सय केभी एसिएसआर मुस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्ने छ । यी कन्डक्टर नेपालको डिडिङ–ढल्केबर र भारतको बथनाहा सीमापार विद्युत् प्रसारण लाइन परियोजनामा प्रयोग गरिने छन् । उक्त प्रसारण लाइन नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । 

नेपालमै पहिलो पटक चार सय केभी एसिएसआर मुस कन्डक्टर उत्पादन हुन लागेको र यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गरेको देखाएको विज्ञप्तिमा उल्लेख छ ।

परियोजना स्वीकृत गर्नुअघि पावर ग्रिड कर्पोरेसन अफ इन्डियाले लिटमस इन्डस्ट्रिजको कारखानाको मूल्याङ्कन गरेको थियो । यसमा उत्पादन प्रक्रिया, उत्पादन क्षमता, गुणस्तर नियन्त्रण तथा परीक्षण प्रणाली, साथै समग्र कारखाना पूर्वाधारको समीक्षा गरिएको थियो । 

मूल्याङ्कनपछि लिटमस इन्डस्ट्रिजलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एक मात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो ।