गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ५ गते । मायाखोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबिच मायाखोला हाइड्रो पावरको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले मायाखोला हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नुपर्ने कार्य तथा अनुमतिपछि बिक्री प्रबन्धकको कार्य गर्ने छ ।
उक्त कम्पनीले सङ्खुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको मायाखोला हाइड्रोपावर आयोजनाको निर्माण गरी २०८० असारदेखि विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ । उक्त कम्पनीले सर्वसाधारणलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।