गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई पाँच वर्षभित्रै डिजिटल हब बनाउने अवधारणा सार्वजनिक गर्नुभएको छ । उहाँले सोमबार भिडियो सन्देशमार्फत सूचना प्रविधिलाई सुधारेर निर्यातसँगै रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको हो ।
उहाँले प्रविधिमा सुधार गरी पाँच वर्षभित्र चार खर्ब रुपियाँ आइटी सेवा विदेशमा निर्यात गर्न सकिने बताउनुभएको छ । उहाँले दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने पनि बताउनुभएको छ । करिब दुई वर्षअघि उहाँले कीर्तिपुरको डाँडामा ल्यापटप चलाएरै मासिक तीन/चार लाख रुपियाँ कमाउन सकिने अभिव्यक्ति दिनुभएको थियो । त्यसलाई ट्रोल बनाइएकोप्रति टिप्पणी गर्दै उहाँले योजनाबद्ध काम गर्न सके नेपालमा प्रविधि क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने बताउनुभयो ।
सभापति थापाले दुई वर्षअघि अध्यादेशमार्फत गरिएका साना सुधारले सकारात्मक नतिजा देखाएको, थप व्यवस्थित र नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आइटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य प्रस्तुत गर्दै पाँच वर्षभित्रै करिब चार खर्ब रुपियाँबराबरको आइटी सेवा निर्यात गर्न सकिने दाबी गर्नुभयो ।
उहाँले प्रविधि विकास योजना कार्यान्वयन गर्न सके दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आइटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र तीनदेखि पाँच वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राख्नुभएको छ ।
सभापति थापाले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण र सार्वजनिक, निजी साझेदारीको मोडेलमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल फ्रिल्यान्सिङ र बिपिओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनु पर्छ । सरकारले पनि स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकतासाथ प्रयोग गर्नु पर्छ ।”