• ४ फागुन २०८२, सोमबार

चुनावी प्रचारमा रहेका भारतीय नम्बरप्लेटको गाडी नियन्त्रणमा

blog

आचारसंहिता उल्लङ्घन गरी चुनावी प्रचारमा रहेका गाडी प्रहरी नियन्त्रणमा । तस्बिरः देवराम यादव

देवराम यादव

सप्तरी, फागुन ४ गते । सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेका दुई प्रचार गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारमा विदेशी (भारतीय) नम्बर प्लेटका सवारीसाधन प्रयोग भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनको क्रममा दुईवटा भारतीय नम्बर प्लेटको गाडि नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीत प्रचारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहका समर्थकले प्रयोग गरिरहेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा समेत प्रयोग हुँदैआएको एक भारतीय नम्बर प्लेटको सवारीसाधन पनि प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीमध्ये बीआर ११ पी बी ८६१० नम्बरको सवारी स्वाभिमान पार्टीसँग सम्बन्धित रहेको छ भने बीआर ६७ पी बी ८९५६ नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग भइरहेको पाइएको छ । प्रशासनले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराइने र उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने जनाएको छ ।