काठमाडौँ, फागुन ४ गते । विज्ञापन बोर्डले अनुगमनका क्रममा कृतिम बौद्धिकता (एआई) को प्रयोग गरि मतदातामा भ्रम सिर्जना भएको फेला पारेको भन्दै ध्यानाकर्षण गराएको छ ।
सोमबार विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) ले एआईको प्रयोग गरि निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको प्रयोग व्यापक भएको तथा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई होच्याउने, भ्रम सिर्जना गर्ने तथा भनदै नभनेको कुरा प्रविधिको प्रयोग गरि श्रव्य, श्रव्यदृश्य सामग्री बनाइ प्रचारप्रसार गरिरहेको पाइएको जानकारी दिनुभयो ।
यसका साथै नक्कली खाता बनाइ त्यस प्रकारको कार्य गर्ने टिकटक तथा फेसबुक खाता बन्द गर्न र कानुन बमोजिम कारवाही गर्न निर्वाचन आयोगलाई सिफारिस गर्दै आएको बोर्डले बताएको छ ।
बोर्डले त्यस्ता सामग्रीबाट भ्रममा नपरी भयरहित भइ आफूले चाहेको तथा रोजेको दल तथा उम्मेदवारलाई मतदान गर्न समेत सम्पुर्ण मतदातामा आग्रह गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ का साथै विज्ञापन ऐन, २०७६ बमोजिम विज्ञापन नियमावली, २०७७ विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ बमोजिम विभिन्न माध्यममा प्रकाशन, प्रसारण तथा प्रदर्शन भएका विज्ञापन सूचना, सन्देश, विज्ञापनलाई समाचारको रुपमा प्रकाशन भएका विषयवस्तुलाई बोर्डले अनुगमन, छानबिन एवम् कारवाही गरिरहेको बोर्डले जनाएको छ ।