• १० मंसिर २०८१, सोमबार

राजनीतिक महत्त्वाकाङ्क्षाको अवसान

blog

वैचारिक विचलन र राजनीतिक महत्त्वाकाङ्क्षाले नेताको राजनीतिलाई कहाँसम्म पु-याउने सक्छ ? नेपाली राजनीतिमा यो प्रश्न अब अनुत्तरित रहेन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले यसको ज्वलन्त उदाहरण बन्नुभएको छ । लोकतान्त्रिक शासन पद्धतिलाई स्वीकार नगर्ने स्कुलिङबाट सुरु भएको उहाँको राजनीति स्खलित हुँदै क्षेत्रीय दलमा सीमित रहन पुग्यो र त्यहाँ पनि उहाँले आफ्नो ‘स्पेस’ फेला पार्न सक्नु भएन । यतिबेला डा. भट्टराई टेक्ने रुख न समाउने हाँगोको अवस्थामा पुग्नुभएको छ । त्यसो त डा. भट्टराई पहिलो उदाहरण होइन, यस्ता घटनाक्रमको उहाँ पछिल्लो उदाहरण मात्र हो । राजनीतिक विचलनले कुनै पनि नेताले क्षणिक लाभ लिन सक्ला, अन्ततः उसको राजनीतिक अवसान अवश्यम्भावी छ भन्ने उदाहरण नेपाली राजनीतिमा थुप्रै देखिएका छन् । 

नेपाली राजनीतिमा पञ्चायतकालदेखि देखिएको यो विचलन निरन्तर जारी छ । हिजो कुनै प्रतिबन्धित पार्टी छाडेर पञ्चायतमा समाहित हुने प्रवृत्ति थियो भने आज दल चाहार्ने प्रवृत्ति देखापरेको छ । फरक यति मात्रै हो । पञ्चायती राजनीतिमा एकजना राष्ट्रिय पञ्चायत सदस्य थिए धादिङका हरिबहादुर थापा । पञ्चायती राजनीतिमा हस्तक्षेपकारी भूमिका नभएका तर पटक पटक रापस हुने हैसियतका रसिक माननीय थापाको नेपाली कम्युनिस्टका प्रति एउटा जोक थियो – काँग्रेस पञ्चायत पस्यो भने मन्त्री हुन्छ, कम्युनिस्ट पस्यो भने फर्सी जस्तो कुहिन्छ । यो जोक सबै काँग्रेस वा सबै कम्युनिस्टका हकमा समान रूपमा लागू त भएन तर यसले कम्युनिस्टहरूको सत्ताप्रतिको आशक्तिलाई प्रतिविम्बित गथ्र्यो ।

डा. भट्टराई माओवादी नेताका हैसियतमा यो देशको प्रधानमन्त्री बन्नुभएको हो । तीन पटक माओवादीले प्रधानमन्त्री बन्ने अवसर पाउँदा पार्टीका दुईजना मात्रै प्रधानमन्त्री भए । चौथो वा पाँचौँ पटक पनि प्रधानमन्त्री बन्ने अवसर आएछ भने फेरि पनि माओवादीसँग अर्को नाम छैन ।

तर यतिबेला माओवादी कार्यालयमा पूर्वप्रधानमन्त्रीको नाम टाँगिथ्यो भने पनि एउटाबाहेक प्रधानमन्त्रीको अर्को तस्बिर राख्ने अवस्था छैन । नेपाली राजनीतिको अधिकतम लक्ष्य प्रधानमन्त्री नै हो । बरीयतामा राष्ट्रपति पहिलो नम्बरमा रहे पनि उसले शक्ति प्रयोग गर्ने हैसियत राख्दैन । त्यसैले राजनीतिक शक्तिको स्रोत प्रधानमन्त्री नै हो ।

हालसम्म मुलुकमा राजनीतिक दलका प्रधानमन्त्री खोज्ने हो भने चार दललाई मात्र त्यो अवसर प्राप्त भएको छ । प्रजातन्त्रको स्थापनापछि प्रधानमन्त्री पाउने राजनीतिक दल नेपाली काँँग्रेस हो । आज पनि काँग्रेस सत्तारुढ दल हो । नेकपा एमालेले अल्पमतको सरकारबाट सुरु गरेको सत्तारोहणलाई झन्डै दुईतिहाइ बहुमतसम्मको यात्रामा पु-यायो । आज ऊ संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा छ । हिंसात्मक आन्दोलनका बलमा स्थापित नेकपा माओवादी संसद्मा तेस्रो दल हो । अरू दलको खिचातानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्तारुढ हुने चौथो दलको हैसियत प्राप्त ग-यो । यद्यपि यो दलका नेतालाई प्रधानमन्त्री हुन दलीय शासन आउनु र खोसिनुले केही फरक पारेन । 

गैर पार्टी प्रमुखका रूपमा नेपालका प्रधानमन्त्री हुनेहरूमा काँग्रेसका शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल र माओवादीका डा. भट्टराई मात्र हुन् । नेपाल प्रधानमन्त्री हुनु अघि नै पार्टी प्रमुख भइसक्नु भएको थियो भने देउवा प्रधानमन्त्री भएपछि मात्रै पार्टी प्रमुख हुनु भएको हो । डा. भट्टराईका हकमा त्यो अवसर सत्तारुढ पार्टीका रूपमा अहिलेसम्म जुरेको छैन र सम्भवतः उहाँले रोज्नु भएको बाटोले उहाँलाई त्यो हैसियतमा पु-याउने सम्भावना पनि छैन । यति जाने बुझेर पनि डा. भट्टराई किन विचलित हुनुभएको 

छ ? अबको उहाँको गन्तव्य के हो ? फेरि उहाँ कुनै झिनामसिना दल खोजेर त्यसको नेता हुने आकाङ्क्षा राख्नु हुन्छ वा शक्तिका रूपमा स्थापित हुन नसकेको नयाँ शक्ति पार्टीको पुनर्गठनमा लाग्नु हुन्छ ? यो उहाँको रोजाइ हो ।

उहाँका बारेमा चासो र चिन्ता लिनुको कारण उहाँ मुलुकको पूर्वप्रधानमन्त्री भएका कारण मात्र होइन, राजनीतिमा तुलनात्मक रूपमा एउटा इमानदार पात्र पनि हो । पार्टीको नेतृत्व क्षमताका हिसाबले उहाँले आफूलाई अब्बल प्रमाणित गर्न नसक्दा पनि मुलुक बनाउने स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा उहाँको ख्याति अहिले पनि छ । 

उहाँसँग आमनागरिकका आशा र अपेक्षाहरू पनि धेरै थिए तर १८ महिना सत्तामा बसेर निस्कँदै गर्दा उहाँले अपेक्षाकृत काम गर्न सक्नु भएन । संविधान सभाबाट संविधान जारी गराउन प्रधानमन्त्रीका रूपमा भूमिका निर्वाह गर्न नसक्नु उहाँको ठूलो राजनीतिक असफलता थियो । उहाँको नाम व्यक्तिगत रूपमा भ्रष्टाचारमा नजोडिए पनि परिवारका सदस्यको नाम पटक पटक जोडिइरह्यो । 

तर नियतिले नेतालाई पनि धोका दिने रहेछ । कठोर कम्युनिस्टका रूपमा पहिचान बनाउनु भएका भट्टराई माओवादीबाट बहिर्गमन गर्दै गर्दा आफू अब उप्रान्त कम्युनिस्ट नरहने घोषणा नै गर्नुभयो । सम्भवतः कम्युनिस्ट पार्टीभित्र हुने गैर लोकतान्त्रिक परिपाटी र चरित्रबाट उहाँ आजित हुनुभएको थियो । यो घोषणा गर्दै गर्दा सम्भवतः लोकतान्त्रिक पार्टीमा असन्तुष्ट रहेका नेता कार्यकर्ता पनि आफूले खोलेको पार्टीप्रति आकर्षित हुने लोभ पनि उहाँमा थियो तर अपेक्षित रूपमा उहाँलाई न काँग्रेसले साथ दिए, न कम्युनिस्टहरूले । उहाँको पार्टी दलीय व्यवस्था पुनस्र्थापनासँगै अर्थमन्त्री बन्नु भएका डा. देवेन्द्रराज पाण्डेले खोल्नु भएको पार्टीभन्दा फरक हुन सकेन । एउटा चुनावदेखि त्यो पार्टीले अर्को चुनाव देख्न भेट्न पाएन । उहाँलाई साथ दिनेहरू विस्तारै पुरानै पार्टीमा फर्किए र अन्ततः उहाँको पार्टीले पलायनको बाटो रोज्यो । 

डा. भट्टराईको अझै पनि साना र क्षेत्रीय पार्टीप्रति नै आकर्षण छ भने त्यसको प्रमुख कारण फेरि पनि पार्टीको नेतृत्व हात लगाउनका लागि हो । माओवादी पार्टीमा प्रचण्डपछिको बरीयतामा रहँदै आउनु भएका डा. भट्टराईले आफूलाई कुनै पार्टीमा तेस्रो बरीयतामा आफूलाई उभ्याउन सक्नु हुन्न । यो हीन मनोग्रन्थीले उहाँलाई कुनै ठूलो दल रोज्न नै दिँदैन । डा. भट्टराईमा भएको राजनीतिक उदारताको खोजी उहाँको व्यक्तिगत चरित्रमा पनि देखिने हो भने उहाँका लागि अझै पनि थुप्रै राजनीतिक ‘स्पेस’ बाँकी नै छ । कम्युनिस्ट सिद्धान्त त्यागेका कारण उहाँलाई कम्युनिस्ट ट्याग लगाएका पार्टीमा अब त्यो स्पेस हुने छैन तर अरू राजनीतिक दलमा उहाँ अटाउने ठाउँ हुन सक्छ । 

नेपालका परम्परागत राजनीतिक दलको विकल्पमा बहस सुरु हुन थालेको धेरै भइसक्यो । केही पालिकामा स्वतन्त्र उम्मेदवार जितेका आधारमा नेपालका स्थापित राजनीतिक दलबिरुद्ध नयाँ राजनीतिक शक्तिको उदय हुनलाग्यो भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ । ती स्वतन्त्रका नाममा फेरि स्वतन्त्र नामका दल खोल्नुको औचित्य आउने निर्वाचनले नै देखाउने छ । फेरि ती पार्टीमा आफ्नो स्पेस खोज्ने चाहनाले डा. भट्टराईलाई कहीँ पु-याउन सक्दैन । 

राजनीतिमा केशरजङ्ग रायमाझी र परशुनारायण चौधरी हुने जमानाको त अन्त्य भयो तर नेताहरूको संस्कार र प्रवृत्तिमा ती चरित्रहरू अझै हावी हुँदैछन् । सत्ताआरोहणले व्यग्र चाहनाले आज पनि केशरजङ्ग र परशुनारायणहरू जन्माउने क्रम रोकिएको छैन । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र तदनुरूपको आचरणमा दल र यसका नेताहरू आज पनि गम्भीर देखिएका छैनन् । राजनीतिक दल र नेताका लागि सत्ता अन्तिम लक्ष्य हो तर त्यो सत्ता सधैँ मेरा लागि हुनुपर्छ वा मेरै वरिपरि घुम्नुपर्छ भन्ने संस्कार र मान्यताले अधिनायकवाद जन्माउँछ ।