• १० मंसिर २०८१, सोमबार

बजारीकरणको दबाबमा व्यक्तित्व

blog

अस्पतालका जागिरे डाक्टर ड्युटी आवरमा अस्पताल नभई निजी क्लिनिकमा हुनु र विश्वविद्यालयका शिक्षक कक्षा कोठामा नभई निजी विद्यालयमा भेटिनु अब सामान्य भयो । त्यसैले डाक्टर र प्रोफेसरको सामाजिक सम्मान व्यवसायीमा झरेको छ । जीवनका भरोसिला अभिभावकलाई पैसाले कजाउन सकिने पेसामा फेरियो । थप अचम्मका कुरा नेपालगञ्ज, भेरी अञ्चल अस्पतालमा भने हप्तैदिन पहिल्यै हाजिरी गरेको अस्पताल विकास समितिले (अविस) पाएपछि सम्बन्धित डाक्टरहरूलाई सचेत गराउँदै मन्त्रालयमा पत्राचार ग-यो ।

जिल्ला प्रशासनले पनि हाजिरी फाइल कब्जा गरेर कारबाही अघि बढायो । यसविरुद्ध डक्टरहरूको सङ्गठन मेडिकल एसोसियसनले (यनयमए) भने विपक्षमा प्रेस विज्ञप्ति जारी गरेर आफ्ना आरोपित सदस्यका पक्षमा उभियो । यसले एकै पटक धेरै प्रश्न उठे । सार्वजनिक व्यक्तित्व र पदाधिकारीप्रति जनचासो मात्र बढेको छैन खबरदारीसमेत भइरहेको हुन्छ ।

कामै नगरी तलब लिन पाउनुपर्ने नियमको वकालत छ, 

निजी क्लिनिक र विद्यालयमा कम गर्दै सरकारी अस्पताल र विश्वविद्यालयको ट्याग राख्नु आवश्यक छ र ?

एडभान्स हाजिर हुँदा भवितव्यमा कानुनी समस्या पर्छ । 

समाजले मानेका आदर्शकर्मलाई जनविश्वास टुटेपछि समाजमा पर्ने असर । 

कहाँ काम गर्ने वा नगर्ने स्वविवेकको विषय हो तर द्वैध भूमिका कति जायज हुन्छ ? 

यी र यस्ता विषयमा कसैको चासो र चिन्ता हुँदैन ।

जब सरकारी कामले आवश्यकता पूरा हुँदैन भने निजी काममा पूर्ण समर्पण भएमा एकातर्फ बेरोजगारले काम पाउँछन् भने सरकारी ट्रेडमार्क प्रयोग गर्ने अपराध कर्मबाट पनि जोगिन सकिन्छ । अत्याउन सक्नुपर्छ, डक्टर वा निजी अस्पतालको सोचमा बिरामी गरिब हुँदैन र वकिलको नजरमा पनि क्लाइन्टको पकेट सदा भरिएको हुन्छ भन्ने विश्वास गर्छन् । जहाँबाट, जसरी भए पनि भनेजति पैसा आउँछ भन्ने हुन्छ । नमस्ते खाँदै बिरामी वा झगडिया आहारा बन्छन् । जति महँगो भयो उति योग्य ठहरन्छिन् पनि ।

नेपालगञ्जमा एकजना सर्जन अप्रेसन थियटरबाट रगतले लथपथिएका पञ्जा लगाउँदै बिरामीको अभिभावकसँग पहिले तय भएको फिसले नपुग्ने भनेर मोलतोल गर्थे । झन्डै २५ वर्ष पहिला निजी क्लिनिकमा बिरामी लैजाने विषयको झगडाले नेपालगञ्जको सडकमा दुई डाक्टरबीचको कक फाइट बिना टिकटको रमिता बनेको थियो । आखिर मन्त्रालयले हस्तक्षेप गरे पनि समयसँगै सामसुम पारियो, केस ढिसमिस भयो ।

हमाम मे सवकोही नाङ्गा 

भ्रष्टाचार आर्थिक मात्रै नभएर नैतिक, सामाजिक, सांस्कृतिक आचरणमा समेत हुने भएकाले त्यसलाई कारबाही गर्ने नैतिक शक्ति कमैसँग हुन्छ । मुहान सफा भए मात्रै नदी तलसम्म सफा हुन्छ, भंँगालाहरूले केही असर पारे पनि पूरै नदी धमिल्याउन सक्दैन । भ्रष्ट सिन्डिकेटका हात भने धेरै लामो हुन्छन् । अदालत अपराध र भ्रष्टाचारको धोबीघाट भएकाले पैसाले सबैलाई नियन्त्रण गरेपछि वैधानिकता पाउँछन् भन्ने सार्वजनिक सोच बन्दैछ । अधिकांश अदालती फैसलाले पनि न्याय किनबेच हुन्छ भन्ने तर्क पुष्टि हुन्छ । न्यायक्षेत्रका सुधारका सिफारिस र सार्वजनिक अडियोले छरप्रष्ट ती तर्क र सोचाइले अझ बल पु-यायो । 

 संवेदनहीन समाज र भ्रष्टतन्त्रमा गम्भीर समाचारको आयु अत्यन्तै छोटो हुन्छ । विषयले गम्भीरता नपाएपछि प्रतिक्रिया पनि सामान्य हुन्छन् । राजकीय भ्रष्ट संस्कृति भएपछि भ्रष्टाचारलाई पौरख मानिन्छ । जब अपराधलाई संस्थागत स्वीकारिन्छ तब भ्रष्टता व्यक्तिमा सीमित नभई संस्थामा नै औँला उठ्न थाल्छन् । संस्था नै भ्रष्ट हुनु र भ्रष्टाचारको रक्षक र वकालत गर्नु सामाजिक भयावह हो । हरेक सदस्य दोषको भागी हुन्छन् । नैतिक जिम्मेवारको भारी पनि बोक्नु पर्छ । अहिले संस्थाहरू मोलमोलाइ गर्ने औजार र भ्रष्ट सदस्यहरूको सुरक्षा कवच बन्दैछन् ।

ट्रेड युनियनहरू पेसाको गौरवता, आन्दोलनको साधन, क्षमता बढाउने नयाँ चुनौतीका सामूहिक हल र पहल खोज्ने, सामूहिक चिन्तन, अभ्यास कर्म र दायित्व पूरा गर्ने थलो भन्दा पनि अहिले सुविधा, अपराध वा भ्रष्टतन्त्रको सामान्यीकरण गर्ने मञ्च बन्दैछन् । ठूला भ्रष्टाचारीलाई केही नहुने सामान्य मात्रै बज्रिने भनेर विषयलाई सामान्यीकरण गर्न तर्क उमार्छन् । समाजले नै भ्रष्टतन्त्र आत्मासात् गरिसकेकाले कुनै पनि घटनालाई विरोध गर्ने सामान्यजनसँग आत्मबल घट्दो छ । यो सामाजिक डरमर्दो अवस्था भनेको बनाना रिपब्लिक वा श्रीलङ्कनपथ बन्ने सङ्केत हो । 

शब्दले गुमाउँदै गएका सामथ्र्य 

 सार्वजनिक पेसाका मर्यादा खस्कनु र नायकको पतन हुनु व्यक्तिको विषय मात्रै नभई सामाजिक दुर्घटना बन्ने गर्छ । एउटा व्यक्तिबाट व्यक्तित्वमा फेरिन स्वयं व्यक्तिको त मुख्य भूमिका र इच्छाशक्तिमा भर पर्छ । त्यसमा परिवार, समाज र परिवेशको पनि भूमिका रहन्छ । समयसँगै अहिले शब्दले आफ्ना मर्म, क्षमता, ऊर्जा, संवेदना, र ओर्जन धान्न सकिरहेका छैनन् । गुरु, डाक्टर, लेखक, पत्रकार, नेता, समाजसेवी, स्वयंसेवक शब्दप्रतिको समाजमा जुन स्वतः आदर हुन्थ्यो त्यो अब क्रमशः खस्कँदैछ ।

केही नाता, व्यवसाय, पद, भूमिकाका शब्द सुन्दा नै हृदयदेखिकै आदर, सम्मान भाव पैदा हुन्छन् भने केही शब्द सुन्ने बित्तिकै भावना फेरिन्छन् । चोर, डाँका, बलात्कारी, हत्यारा, ठग, गुण्डा, जाली, फटाहा, धोकावाज, गद्दारजस्ता शब्द जोडिएको अपरिचित भए पनि त्यस्ता मान्छेप्रति घृणा, आक्रोश, अविश्वास पैदा भएर टाढिनेछ भने गुरु, डक्टर, पुजारी, नेता, पत्रकार, लेखक शब्दका ओजन, मर्म, गौरवता, सामाजिक प्रतिष्ठा स्वतः बढेर सामीप्य हुन, सिक्न, अनुसरण गर्न उत्साहित हुनु । बजारले संवेदना र अदर्शमा डकैती गरेसँगै अब शब्दका मर्म र औकात पनि खस्कँदै तिनीहरूका आदर्शमा पहिरो जाँदा व्यापारीमा फेरिँदैछन् । 

एउटा व्यापारी असल साझेदार बन्न सक्छ तर कहिल्यै पनि असल साथी बन्न भने सक्दैन । व्यापारी नैतिकताको तराजु नाफामै जोखिन्छ, निर्देशन गर्छ । हरेक सम्बन्धलाई नाफाका चस्माले नियाल्नु बजार सौन्दर्यता हो । नाफाका लागि सामाजिक प्रतिष्ठाको जस्तोसुकै जोखिम पनि उठाउन सक्नु व्यापारीको धर्म र कर्म हुन्छ । बजारको सामथ्र्यसँगै आदर्शको बजारीकरण हुँदा सम्मानित पेसा पनि परम्परागत आदर्शमा टिक्न नसकेर व्यापारीकरण बन्दै गए । त्यसले सबभन्दा सामाजिक अभिभावक बनेर दिशा निर्देशन गर्ने आदर्श पेसा गुरु, डक्टर र लेखक सङ्क्रमित बन्न पुगे । अझ स्वयंसेवक शब्दको चीरहरण भएर विकासे बन्न पुग्यो । 

आमा भन्नु र बाउकी स्वास्नीको अर्थ त एउटै होला, तर आमा शब्द र नातासँग रहेको संवेगात्मक नजदिकता, हार्दिकता ममत्व अर्को शब्दले राख्नै सक्दैन । जब मौलिक चरित्र धान्न कुनै पात्रले सक्दैन, तब पनि आफ्ना परिचयमा किन त्यही टयाग झुन्ड्याइरहेका हुन्छन् भन्ने हुन्छ । प्रोफेसर वा पीएचडी त स्वयं एउटा संस्था हुन्छ तर के सबै प्रोफेसर वा पीएचडीधारी त्यस हैसियतमा छन् ? गुरु बुद्धिको कारखाना हो । ज्ञान, बुद्धि र शिक्षा फरक हुन्छन् । शिक्षक जो पनि बन्न सक्ला तर ज्ञानको क्षेत्रफल फराकिलो पार्ने गुरु जीवन र जगत्लाई आफ्नै ज्ञानचक्षुका पर्दा उघार्ने पथप्रदर्शक हो । उसका सोच, आचरण र अभ्यासको विद्यार्थीले अनुसरण गरेर नयाँ मान्छे बन्दै जान्छन् । विद्यार्थी शिक्षार्थी होइन । तर शिक्षा व्यवसायीले ज्ञान नभई ह्वाइट लेवर बन्ने शिक्षा मात्रै दिन्छ । एउटा डक्टरसँग दिल, दिमाग र शरीर नाँगिन बिरामीलाई समस्या पर्दैन, लाजघीन हुँदैन तर जीवनरक्षक डाक्टर व्यापारी बनेपछि त्यो विश्वास ऊसँग हराउँछ । 

अन्त्यमा

सामाजिक सम्पत्ति बनेका सार्वजनिक व्यक्तित्वले गल्ती गर्ने अनुमति पाउँदैन । बगरेले हलाल गरोस् र या छटक्क खसी ढालोस् उम्लाइ रगतसँग पौडी खेल्ने बानी परिसकेको हुन्छ । अपराधीले अपराध गर्ने पेसा हो, अपराधका पनि तर्क हुन्छन्, गलत सोच्दैन । सुध्रिएमा राम्रो तर आदर्श चरित्रैभित्रै पनि गलत व्यक्ति, गलत आचरण भएका मान्छे पनि हुन सक्छन् । अझ समग्र परिपाटीले गलत दिशा समात्छ भने गल्ती गर्नेले गल्तीलाई गलत देख्दैन, जीवनमै स्वीकारीसक्छ ।

जब त्यस गल्तीलाई, कमजोरी, हेलचेक्र्याइँमा संस्थागत स्वीकारिन्छ तब गडबड सुरु हुन्छ । समाजमा गलत सन्देश जान्छ । नायक सोच्नेका नजरमा सबैलाई गलत नजरले सोचिन् थालिन्छ । तब शब्दले मर्म, ओजन र सामथ्र्य गुमाउँछ । समग्र पेसाकर्म नै बदनाम हुन्छ । कालान्तरमा त्यसको समग्र घाटा व्यक्तिमा मात्रै सीमित नभई समाजले बेहोर्नुपर्छ । सामाजिक अगुवाले हिस्सेदार बन्नुपर्छ । सरकारी अस्पताल र विश्वविद्यालय बजारमा खपत गरिने जनशक्तिको विज्ञापन होर्डिङबोर्ड बन्ने छुट दिइनु हुँदैन ।