शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मेरो एउटा साथी छ
जो हरबखत मेरो
साथ दिइरहन्छ
इमानदार छ, आज्ञाकारी छ
झुट बोल्दैन
छलकपट गर्दैन
मैले गल्ती गर्न लागेँ भने
मलाई सम्झाउँछ
बुझाउँछ, रोक्छ र
सचेत गराउँछ
राम्रो सल्लाह र सुझाव दिन्छ
मैले बेवास्ता गरेँ भने
हकार्छ
अन्जानमै भए पनि
मैले कुनै गल्ती गरेँ भने
मेरो सट्टा ऊ पछुताउँछ
ऊ मलाई हरदम
सही बाटोमा हिँड्न
प्रेरित गर्छ
र मार्ग प्रदर्शन गर्छ
ऊ अति संवेदनशील छ
मेरो हरेक दुःखसुखमा
साथ दिन्छ
मसँग कहिल्यै ऊ
टाढा हुन चाहँदैन
मेरो घनिष्ठ मित्र
जो मभित्र नै छ
ऊ अरू कोही होइन
ऊ त्यो हो
मेरो आत्मा
मभित्र रहेको
मेरो आत्मा
मेरो अन्तरआत्मा ।