शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कक्षाकोठाको कालोपाटीमा
मास्टरले लेख्दै गर्दा
भाँचिएर भुइँमा झरेको
चकको टुव्रmा
टिपेर घर ल्याउँछु
त्यही चकले लेखेर
आमालाई कखरा पढाउँछु
र घरलाई पाठशाला बनाउँछु ।
मलाई थाहा छ–
आमाले पढेको घर
कहिल्यै अँध्यारो हुँदैन
जूनसँग सौन्दर्य सापटी माग्नै पर्दैन
भविष्यमा चक जस्तै सेतो
आमाको मुहार हेर्ने मन छ
कालोपाटी जस्तै
घरको अँध्यारो भविष्य
आमा र म मिलेर
डाँडो कटाउनु छ
शिक्षाको दियो बलेको घर
गाउँलेलाई देखाउनु छ