• २९ माघ २०८२, बिहिबार

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

blog

दमौली (तनहुँ), माघ २९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लङ्घनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिनुभयो । 

तनहुँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर÷सङ्केत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताउनुभयो । उहाँका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रर्दशनी गरेको, झण्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेकोलगायत विषयमा उजुरी परेका छन् ।

उजुरीका बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गर्नुभयो । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न-गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

आचारसंहिता उल्लङ्घन अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको आवश्यक पर्ने भएकाले आचारसंहिता पालना गर्न अनुरोध गरिएको रेग्मीले बताउनुभयो ।

प्रचारप्रसारका क्रममा कानुन र निर्वाचन आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै रेग्मीले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकार भएका पक्षलाई मर्यादित व्यवहार गर्न आग्रह गर्नुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ भने निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी नियमित अनुगमन भइरहेको छ । कुनै पनि किसिमका आचारसंहिता उल्लङ्घन, अवाञ्छित गतिविधि वा गुनासो देखिए तत्काल जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

तनहुँ क्षेत्र नं १ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट भगवती न्यौपाने, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट विद्यानाथ ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट डा स्वर्णिम वाग्ले, नेकपा (माओवादी)बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आमजनता पार्टीबाट चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मङ्गोल अर्गनाइजेसन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपब्लिक नेपालबाट सुमन थापा मगर प्रतिस्पर्धामा हुनुहुन्छ । 

तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत भेषराज पौडेलले यस क्षेत्रमा कुनै उजुरी नपरेको जानकारी दिनुभयो । यस क्षेत्रमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । 

नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेशनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा ९माओवादी०बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । रासस